तपाईँ सुन्दै हुनुहुन्छः

किवीले बजार पाएन

इलाम । गुणस्तरीय किवी उत्पादन नहुँदा बजारमा समस्या देखिएको छ। एक बोटमा करिब दुई सय किलोसम्म उत्पादन हुने किवी कृषकले गुणस्तरीय आकार र तौल भएको फल उत्पादनमा जोड नदिंदा समस्या देखिएको  हाे।

इलामसहित केहि जिल्लामा किवीको उत्पादन गरिएको छ। जमिनको उचाई अनुसार किवीको जात छनौट नहुँदा फलको उत्पादन सानो र तौल कम भएको विशेषज्ञले औंल्याएका छन्।

गुणस्तरीय फल उत्पादन नहुँदा कम मूल्यमा विक्री गर्न बाध्य भएको सरोकारवालाको भनाइ छ। किवी फलको व्यवसायिक उत्पादन र उचित मूल्य पाउन किवीको व्यवस्थापनमा ध्यान दिन आवश्यक भएको किवी फल महासंघका महासचिव तथा किवि विशेषज्ञ सगुन उप्रेतिले बताउनुभयो।

जिल्लामा किवी फलको व्यवसायिकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किवी जोन संचालनमा रहेको छ। पाँच सय हेक्टर क्षेत्रमा फैलिएको किवी खेतीबाट वार्षिक पाँच सय टन उत्पादन हुने गरेको छ। उत्पादित किवी जिल्लामै खपत भए पनि काठमाडौं, भारत र दुबै निर्यात भइरहेको छ।

विदेश निर्यात र बजार विस्तारका लागि गुणस्तरीय आकार र तौल भएको फल उत्पादनमा जोड दिएको किवी जोन परियोजना संञ्चालक समितिका संयोजक देउकुमार राईले बताउनुभयो।

एक बोटमा करिव दुई सय किलोसम्म उत्पादन हुने किवी मकै, चियाबारीमा र अलैंचीका बोटमाथि थाँक्रा लगाएर रोप्ने गरिएको छ। किवीको ग्राफ्टीङ बिरुवा उत्पादन गर्न इलामका किसान सिपालु भइसकेका छन्। किवी खेतीको प्रवद्र्धन गर्न इलाममा किवी महोत्सव समेत आयोजना गरिएको थियो।

समुद्र सतहदेखि तीन हजार मिटर उचाइको क्षेत्रमा किवी खेती गर्न सकिन्छ। किवीमा १२ किसिमका फलफूलको स्वाद र १७ किसिमको प्रोटिन, भिटामिन र खनिज तत्व पाइन्छ। यो फलबाट जुस, जाम, जेली र वाइनसमेत बन्ने हुँदा घरेलु उत्पादनमा समेत यसलाई प्रयोग गर्न सकिन्छ। जमिनको उचाई अनुसार किवीको जात छनौट नहुँदा समस्या उत्पन्न भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button