तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा सुविधासम्पन्न सर्पदंश उपचार केन्द्र स्थापना हुने

जनकपुरधाम, साउन २८ । धनुषामा नेपाली सेनाको सहकार्यमा सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्रको स्थापना हुने भएको छ ।

जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नंं ५ महेन्द्रनगरमा रहेको नेपाली सेनाको श्रीनाथ गणभित्र सर्पदंश उपचार केन्द्रको निर्माण हुने भएको हो ।

क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पञ्जियारले सर्पदंश उपचार केन्द्र भवनको शिलान्यास गर्नुहुँदै यस भेगका सर्पले टोकेकाहरुको उपचारमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उपचार केन्द्र निर्माणमा नगरपालिकाले १ करोडको उपकरण प्रदान गर्ने भएको छ भने यूएनडीपीले १ करोड २६ लाख २६ हजार २ सय ५० खर्च गरेर ९ महिनामा २० श्ययाको नयाँ भवन बनाउने छ भने नेपाली सेनाले जनशक्ति उपलब्ध गराउने भएको छ ।

उपचार केन्द्रमा आकस्मिक कक्ष, आईसीयु, ल्याब, उपचार कक्ष, प्रतिक्षा कक्ष, चिकित्सक कक्ष, आपांगमैत्रीसहित सुविधायुक्त भवन निर्माण हुने नगरपालिकाका प्रमुख पञ्जियारले जानकारी दिनुभयो ।

उपचार केन्द्र प्रदेशको अस्थायी राजधानी जनकपुरधामसँगै राजमार्गसँग समेत जोडिएकाले महेन्द्रनगरमा स्थापना गर्न लागिएको हो । यो क्षेत्र सर्पदंशको दृष्टिकोणले संबेदनशील रहेको छ । स्थापना हुने २० शययामा १२ वटा महिला र ८ वटा पुरुषको रहने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button