तपाईँ सुन्दै हुनुहुन्छः

आल्मुनियमका फर्निचरप्रति आकर्षण

काठ पाउन मुस्किल भएपछि कैलाली जिल्लामा आल्मुनियमका फर्निचरप्रति आकर्षण बढ्न थालेको छ । काठ महँगो र किन्दा पनि पाउन गाह्रो भएपछि उपभोक्ताहरु आल्मुनियमका फर्निचरप्रति आकर्षित हुन थालेका हुन् । आल्मुनियमका फर्निचर र काठको फर्निचरमा आधा मूल्य फरक पर्छ ।

आल्मुनियमका पलङ, टेबुल, कुर्सी, स्ट्याण्ड, ह्याङ्गर सहज रुपमा पाइन्छन् । आल्मुनियमका ढोका, झ्यालसमेत निर्माण गर्न थालिएको छ । टीकापुरकी रत्ना मगरले घर निर्माण गर्दा काठ नपाएपछि आल्मुनियमकै प्रयोग गर्नुभयो । “घर बनाउन थाले, काठ खोज्दा पाइएन, धेरै सामुदायिक वन धाए, काठ किन्न पनि निकै झन्झटिलो रहेछ”, मगरले भन्नुभयो ।

लम्कीका सुरेश शाहले पनि घर निर्माण गर्दा काठ खोज्न कठिन भएपछि आल्मुनियमको प्रयोग गर्नुभयो । “काठ त सुनजस्तै महँगो भएछ । काठ प्रयोग गर्न सकिन्न”, शाहले भन्नुभयो, “काठभन्दा आल्मुनियम निकै सस्तो भएकाले यही प्रयोग गरियो ।”

“काठका फर्निचर महँगा हुन्छन् सबैले प्रयोग गर्न सक्दैनन्”, टीकापुर आल्मुनियमका सञ्चालक चक्र भाटले भन्नुभयो, “अहिले अधिकांशले आल्मुनियमका फर्निचर प्रयोग गर्न थालेका छन् ।” आल्मुनियमका फर्निचर निर्माण गर्दा ज्याला कम लाग्ने तर प्राविधिक कर्मचारी पाउन समस्या भएको उहाँले बताउनुभयो ।

अहिले निर्माण भएका घरका झ्याल र ढोका ८० प्रतिशत आल्मुनियमका छन् । काठको झ्याल बनाउन १५ देखि २० हजार खर्च हुन्छ भने आल्मुनियमको बनाउँदा रु सात हजारमा तयार हुन्छ । “आल्मुनियमका झ्याल ढोका र फर्निचर पाउन थालेपछि आम उपभोक्तालाई सहज भएको छ”, स्थानीयवासी रघुनाथ उपाध्यायले भन्नुभयो । सामुदायिक वनले काठ उपलब्ध गराउन छाडेको अवस्थामा आम उपभोक्ता पनि काठ कम प्रयोग गर्ने बानी बसाल्न थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button