तपाईँ सुन्दै हुनुहुन्छः

हङकङलाई ‘पातालतर्फ नधकेल्न’ कार्यकारी प्रमुख लामको चेतावनी

काठमाडौं । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सरकारविरोधी प्रदर्शनकारीलाई सहरलाई ‘पातालतर्फ नधकेल्न’ चेतावनी दिएकी छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदर्शनका कारण हङकङ ‘खतरनाक अवस्थामा’ पुगेको भन्दै प्रदर्शनकाक्रममा भएका हिंसाले सहरलाई पातालतर्फ धकेलेको बताएकी हुन् ।

प्रदर्शनकारीहरुले हङकङको अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिएर अवरोध सिर्जना गरेको भोलिपल्टै कार्यकारी प्रमुख लाम सन्चारकर्मीमाझ उपस्थित भएकी हुन् ।

निकै भावुकरुपमा प्रस्तुत भएकी लामले हङकङवासीलाई आफ्ना मतभेद एक ठाउँमा राखी सहरबारे सोच्न आग्रह गरिन् ।

उनले नियय–कानुनअनुसार सहरलाई सुरक्षित र अर्थ व्यवस्था सुदृढ बनाउने आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहेको स्पस्ट पारिन् ।

यता, धर्नामा बसेका सयौं प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरू विमानस्थलबाट बाहिर निक्लिएपछि विमानस्थल पुनः सन्चालनमा आएको छ ।

हङकङमा विगत १० हप्तादेखि प्रदर्शन भइरहेको छ ।

सुरुमा विवादास्पद सुपुर्दगी विधेयक खारेजीको माग गर्दै भएको प्रदर्शनले अहिले सरकारविरोधी प्रदर्शनको रुप लिएको छ ।

सरकारले विधेयक स्थगित गरेपनि उनीहरुले यसको खारेजीको माग गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया राख्नुहोस्

Back to top button