तपाईँ सुन्दै हुनुहुन्छः

श्रमदानबाट काठेपुल निर्माण

सुर्खेत-यही साउन १९ गते तिलानदीमा आएको बाढीले बगाएको हाँकु र लाम्रागाउँ जोड्ने पुल स्थानीयवासीले आफ्नै श्रमदानमा निर्माण गरेका छन् । तातोपानी गाउँपालिका–४ र ५ वडाका स्थानीयवासीले सयौँ वर्ष आयु भएको शक्तिशाली देवदार रुख प्रयोग गरेर काठेपुल बनाएका हुन् । पुल बगाउँदा असहज स्थिति सिर्जना भएपछि हाँकु र लाम्रागाउँका करीब पाँच हजार जनसङ्ख्याको आवतजावत गर्नका लागि तत्काल काठेपुल निर्माण गरिएको लाम्रागाउँ निवासी हरिगोपाल चौलागार्इंले राससलाई जानकारी दिनुभयो ।

बाढीले तीन दशकअघि निर्माण भएको काठेपुल बगाएको थियो । पुल बगाएपछि साविकको लाम्रा र हाँकु गाविसको सम्बन्ध टुटेको थियो ।आखिर जोखिम मोलेर भए पनि दुवै गाउँवासीको सामूहिक प्रयासले पुल निर्माण गरी आवागमन सञ्चालन गरेरै छोडिएको उहाँले बताउनुभयो । तत्काल भू–संरक्षण तथा जलाधार कार्यालय जुम्लाले तटबन्धका लागि भनेर जाली सहयोग गरेको उहाँको भनाइ थियो ।

यता नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईँले स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि काठको साँघु निर्माणका लागि भौतिक सहयोग गरेको बताउनुभयो । उहाँका अनुसार स्थानीयवासीले रु छ लाख ४७ हजारको श्रमदान गरेका छन् । स्थानीय कमला कामीले पुल निर्माणले खुशी लागेको बताउनुभयो । तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले यो सामूहिक कामले विगतको ऐतिहासिक घटनाको याद दिलाएको बताउनुभयो । आफ्नो गाउँ, समाज आफैँले निर्माण गर्न सकिन्छ र गर्नेहरुले कसैबाट पाउने आसले मर्नुपर्दैन भन्ने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button