तपाईँ सुन्दै हुनुहुन्छः

घट्दै छन् पानीका मुहान

जाजरकोट । दश वर्षअघि जहाँतहीँ पाइने पानीका स्रोत अहिले कम हुँदै गएका छन् । जथाभावी सडक निर्माण र वनजङ्गल फँडानी कारण पानीका स्रोत सुक्ने क्रम जारी रहेको छ ।

विगतमा मूलबाट आउने पानीको मात्रा र अहिले आउने मात्र निकै ठूलो गिरावट आएको स्थानीयवासीको भनाइ छ । दश वर्ष पहिले घर नजिकै जङ्गल पाइथ्यो, अहिले जङ्गल पुग्न चार घण्टाभन्दा बढी हिँड्नु पर्छ । जङ्गल र पानीको अभावकै कारण खेतीयोग्य जमीनमा खेती गर्न सकिएको छैन । हिजोका दिनमा हराभरा भएको जङ्गल अहिले खाली डाँडा र पाखामा परिणत भएका छन् ।

स्थानीयवासीले जङ्गल फँडानी गरेर जग्गा निर्माण गरेपछि जङ्गल मासिएको हो । सामुदायिक वनको कमाउने धन्दा र वन कार्यालयको पहुँच नहुँदा यहाँका जङ्गल दिन प्रतिदिन मासिँदै गएका छन् । जलवायु परिवर्तनको मुख्य मारमा परेको जाजरकोटमा अहिले जङ्गल जोगाउनेभन्दा पनि अतिक्रमण गर्नेको सङ्ख्या अत्यधिक बढेको छ ।

जथाभावी पशु चौपाया जङ्गलमा छाडा छाड्ने र संरक्षणमा ध्यान नदिँदा जङ्गल मासिने क्रम बढ्दै गएको डिभिजन वन कार्यालय, जाजरकोटले बताएको छ । जङ्गल मासिएसँगै पानीका मुहान कम हुँदै गएका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी जथाभावी डोजरको बलमा सडक निर्माण गरिँदा कतिपय ठाउँमा पानीका मूल पुरिएका छन् । गाउँगाउँमा पानीबाट सञ्चालन भएका अन्न सिस्न प्रयोग हुने पानी घट्टसमेत पानीको अभावमा लोप हुँदै गएका छन् ।

जिल्लाका सात वटा स्थानीय तहमा सामुदायिक वन अतिक्रमणको चपेटामा परेको छ । ऐलानी जग्गा निर्माण गरी जथाभावी घर टहरा निर्माण गर्दा जङ्गल अहिले मानवीय बस्तीको रुपमा विकास भएको छ ।

तीन वर्षअघिको सर्वेक्षणले पाँच हजार १०० हेक्टर जमीन अतिक्रमण भएको देखिएको डिभिजन वन कार्यालयका योजना शाखा पूर्ण चन्दले जानकारी दिए । वन अतिक्रमण गर्नेमा राजनीतिक दलका कार्यकर्ता सबैभन्दा अघि देखिएका छन् । सदरमुकाम खलङ्गा वा गाउँमा वन अतिक्रमण गरी दलका कार्यकर्ता र व्यापारीले घरटहरा बनाउने लगायतका कार्य गरेकाले अतिक्रमण हटाउन पटकपटक प्रयास गर्दा पनि समस्या भएको वन डिभिजन कार्यालयले जनाएको छ ।

विसं २०७० भन्दाअघि ५१८ घरधुरीले वन अतिक्रमण गरी घरटहरा बनाएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । तत्कालीन अवस्थामा १८ घरधुरीले ६७२ दशमलव दुई रोपनी वन अतिक्रमण गरेका थिए । यसैगरी २०७० देखि २०७२ माघसम्म थप नौ घरधुरीले १४७ दशमलव ३५ रोपनी वन क्षेत्र अतिक्रमण गरी घर टहरा बनाएको तथ्याङ्कमा उल्लेख छ ।

हालसम्म जिल्लामा दुई हजार ९४३ घरधुरीले पाँच हजार १०० हेक्टर वन अतिक्रमण गरेको वनको तथ्याङ्कमा उल्लेख छ । यसबीचमा डिभिजन वनले १३२ हेक्टर अतिक्रमित वन क्षेत्र हटाइएको छ ।

डिभिजन वनले बेलाबेला अतिक्रमण हटाउने प्रयास गरेपनि केही राजनीतिक दलको अवरोधपछि उक्त कार्य रोकिएको छ । पछिल्लो समय जिल्ला वनले अतिक्रमण रोक्न ठोस पहल नगर्दा अतिक्रमण गर्नेको सङ्ख्या बढेको आम नागरिकको बुझाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button