तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारत सीमा नाकामा अपराध नियन्त्रणमा चुनौती

बाँकेको ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । यो क्षेत्रमा नेपाल–भारत जोड्ने साना ठूला बाटाहरु छन् । जसमध्ये कुनै मुख्य नाका छन् भने कुनै छोटी नाका छन् । बाँके जिल्लामा सशस्त्र प्रहरी बलका सीमा सुरक्षा कार्यालय छन् । भएका सुरक्षा कार्यालय पर्याप्त छैनन् । जसका कारण सीमामा सुरक्षा चुनौती छ ।

सीमामा सशस्त्र प्रहरीको उपस्थिति पनि न्यून छ । यसले सीमा क्षेत्रमा प्रभावकारी गस्ती र सीमा अ*परा*ध नियन्त्रणमा समस्या आइरहेको सशस्त्र प्रहरी बताउँछ । सरकारले सीमा सुरक्षाका लागि नाकामा सशस्त्र प्रहरीलाई परिचालन गरेको छ । सीमा सुरक्षासँग धेरै कुरा जोडिन्छन् । सीमामा हुने सबै प्रकारका अपराधसँगै हरेक गतिविधिको निगरानी सशस्त्र प्रहरीले गर्छ ।

भारतले पाँच किलोमिटरको दूरीमा भारतीय सीमा सुरक्षा बलले पोष्ट खडा गर्दा नेपालतिर त्यस्तो मापदण्ड छैन । तराईसँग सीमा जोडिएका सीमा क्षेत्रको प्रत्येक पाँच किलोमिटरमा भारतीय सीमा सुरक्षा बलका पोष्ट छन् । तर त्यही क्षेत्रमा नेपालतर्फ ३० किलोमिटरमा मुस्किलले एउटा पोष्ट भेटिन्छ । सुरक्षाकर्मीको पनि त्यस्तै अभाव छ ।

“गस्ती होइन, पोष्ट कुर्दैमा ठिक्क छ”, एक सशस्त्र प्रहरीले भन्नुभयो । नेपालमा एउटा विओपी (सशस्त्र प्रहरी पोष्ट)ले कम्तीमा १३ किलोमिटरको दूरी हेर्नुपरेको सीमा सुरक्षा बल ३० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले बताउनुभयो । बाँकेमा कटकुइँया, नरैनापुर, गङ्गापुर, कालाबञ्जार र बढैयामा सशस्त्र प्रहरी पाँच वटा विओपी छन् । पाँच वटा विओपीमध्ये दुई वटा केही महीनाअघि मात्रै स्थापना भएका छन् । बाँकी तीन वटा हालसम्म पनि स्थापना हुन सकेका छैनन् ।

नेपालतर्फ सशस्त्र प्रहरी बलको पातलो गस्तीले प्रभावकारीरुपमा अ*वैध सामानको चोरी पैठारी रोक्न तथा सीमा अ*परा*ध नियन्त्रण गर्न समस्या भइरहेको छ । स्थापना गरिएका विओपीमा पनि पर्याप्त जनशक्ति नहँुदा समस्या छ ।

उपलब्ध जनशक्तिले सीमा क्षेत्रको गस्ती, सीमा सुरक्षाका साथै सीमावर्ती अ*परा*ध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उहाँको दाबी छ । उहाँले भन्नुभयो, “सीमा सुरक्षासँगै जिल्लाको शान्तिसुरक्षा कायम राख्ने कार्यमा समेत सशस्त्र प्रहरी दिनरात खटिएको छ ।” उहाँले नाकामा नेपाल र भारतको संयुक्त गस्ती निरन्तर भइरहेको बताउनुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “एउटा सशस्त्र प्रहरीको पोष्टमा ३० जना हाराहारीमा जनशक्ति रहन्छ । तीमध्ये केही बिदामा गएका हुन्छन् । केहीले भित्रै काम गर्नुपर्छ । १५÷१६ जनाले बाहिरी रेखदेख गर्नुपर्छ । एउटा पोष्टदेखि अर्को पोष्टसम्म गस्ती गर्न निकै चुनौती छ ।” भारततर्फको सीमामा एसएसबीले झण्डै तीन हजार जनशक्ति तैनाथ गरेको छ । तीनदेखि पाँच किलोमिटर दूरीमा एसएसबीको एउटा पोष्ट छ । प्रतिकिलोमिटर औसतमा २५ जना सुरक्षाकर्मी तैनाथ छन् भने नेपालतर्फ प्रतिकिलोमिटर औसतमा चार जनासम्म खटाइएको छ । सीमितमात्रामा पोष्ट रहेको र औसत ३० किलोमिटरको दूरीमा एउटा पोष्ट र प्रतिकिलोमिटर चार जना जनशक्ति परिचालित भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले नेपालमा कम्तीमा पाँच किलोमिटरको दूरीमा पोष्ट राख्ने योजना भइरहेको बताउँदै पाँच किलोमिटरको दूरीमा पोष्ट राख्ने योजना बनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कहाँकहाँ राख्न सकिन्छ, हामी योजना बनाउँदैछौँ । पाँच किलोमिटरको दूरीमा विओपी राख्न सकेमा नाकाको निगरानी चुस्त हुन्छ ।”

सशस्त्र प्रहरीको पोष्ट बढाउँदा जनशक्ति र स्रोत साधन थप गर्नुपर्ने उहाँको भनाइ छ । तर थोरै दूरीमा विओपी राख्दा थोरै जनशक्तिले पनि काम गर्नसक्ने उहाँको तर्क छ । सीमा नजिक स्थापना गर्नुपर्ने सीमा सुरक्षा कार्यालय र बोर्डर पोष्ट पनि केही ठाउँमा सीमाभन्दा निक्कै टाढा भएकाले सशस्त्र प्रहरी परिचालनमा समस्या भइरहेको उहाँको भनाइ छ ।

कतिपय ठाउँमा जग्गा र उपयुक्त ठाउँको अभावमा टाढा हँुदा गस्तीमा कठिनाइ भइरहेको सशस्त्र प्रहरीको भनाइ छ । जनशक्ति अभावमा सशस्त्र प्रहरी मुख्य नाकामा रहेका भन्सारमा मात्र सीमित छन् । सीमावर्ती क्षेत्रका भन्सार कार्यालयमा अवैध चोरी पैठारी नियन्त्रण गरी राजस्व सङ्कलन बढाउन सशस्त्र प्रहरी खटिएको छ ।

संयुक्त गस्तीले आपराधिक गतिविधि र चोरी तस्करी रोकिएको उहाँले बताउनुभयो । “हामी नियमितरुपमा सीमामा गस्ती गर्छौं । हाम्रो उपस्थितिले सीमा सुरक्षासँगै चोरी तस्करीका घटना रोकिएका छन्”, सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “नियमितरुपमा स्तम्भको निरीक्षण गर्दै आएका छौँ ।” तर सघन सुरक्षाका लागि अझै पनि विओपी आवश्यक छ ।

लामो खुला नाका भएकाले जिल्लाका विभिन्न चोरी नाकामा निगरानी राख्न अझै केही कठिनाइ भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । बाँकेको खुला सीमाबाट दुवैतर्फ चोरी, तस्करी हुने गरेको छ । त्यस्तै पूर्व–पश्चिम राजमार्गमा सशस्त्र प्रहरीका तीन वटा युनिट छन् । कुसुम, शम्शेरगञ्ज र खैरीखोला युनिटले राजमार्गको सुरक्षा दिएको छ ।

खासगरी चाडपर्वका बेलामा राजमार्गमा पर्ने जङ्गल क्षेत्रमा लुटपाट हुने गर्दछ । त्यसका लागि सशस्त्र प्रहरीले खैरीखोलामा विशेष व्यवस्था गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेलामा मात्र नभई अन्य समयमा पनि राजमार्गलाई सुरक्षित बनाउन सशस्त्र प्रहरी जुनसुकै ठाउँमा १० देखि १५ मिनेटमा पुग्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button