तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को राजधानी भन्दा नाममा दलहरु बढी सकसमा

जनकपुरधाम। प्रदेश नंं २ को राजधानी तथा नामका बारेमा प्रदेशसभा सचिवालयले भदौ ५ गतेसम्म आ–आफ्नो दृष्टिकोण सहितको प्रस्ताव दत्र्ताका लागि समय दिएपछि दलहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् ।
दलहरुबीच राजधानीका विषयमा त्यति धेरै विवाद नदेखि पनि प्रदेशको नामाकरणका बारेमा भने व्यापक अन्तरविरोध देखिएको छ । जसका कारण दलहरुलाई निक्कै सकस परेको छ । प्रदेशको नामाकरणका सम्बन्धमा सत्ता पक्ष तथा प्रतिपक्ष दुई ध्रुबमा बाँडिएका छन् ।
प्रदेश नंं २ को राजधानी जनकपुरधाम राख्ने बारेमा प्रायः सबै दलहरुबीच सहमति जस्तो देखिन्छ । नेकपा बृहत्त जनकपुर क्षेत्र जोडिने गरी राजधानी घोषणा हुनुपर्ने पक्षमा रहेको छ । यसमा केही कार्यालयहरु पूर्व पश्चिम लोकराजमार्गको ढल्केवर, गोदार, बर्दिवाससम्म राख्नुपर्ने तर्क नेकपाको छ ।
नेपाली काँग्रेस जनकपुरधाम राजधानी हुनुपर्ने पक्षमा रहेको छ । सत्तारुढ समाजवादी पार्टी तथा राष्ट्रिय जनता पार्टी पनि जनकपुरधाम राजधानी हुनुपर्ने पक्षमा रहेका छन् । यी तीन दलका बीचमा राजधानीको सवालमा खासै मत भिन्नता नरहेको सरकारमा रहेका समाजवादी पार्टीका नेता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताउनुभयो ।
राजधानीको निर्णय लिदा तीन दल एक ठाउँमा आएमा दुई तिहाई पुग्ने अवस्था नभए पनि एक दुई जना मिलाए पुग्ने अवस्था रहेको छ । नामको विषयमा दलहरु बीच मतभिन्नता रहेको छ । सरकारमा रहेको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मधेश आन्दोलनको मर्म अनुसार मधेश, मध्य मधेश प्रदेशको पक्षमा दृढतापुर्वक उभिएका छन् ।
नेकपा मिथिला, जानकी, जनक वा मिथिला भोजपुरा जे भएपनि आफूहरुलाई स्वीकार हुने पक्षमा रहेको नेकपाका प्रदेश सभा सदस्य रामचन्द्र मण्डलले बताउनुभयो । नेपाली काँग्रेस पनि प्रदेशको नाम मिथिला, मिथिला–भोजपुरा, जनक, जानकी जे भएपनि हुने पक्षमा रहेको संसदीय दलका नेता रामसरोज यादवले बताउनुभयो ।
प्रदेशको राजधानी तथा नामको विषयमा प्याकेजमा नै सहमति गरेर दुई तिहाईको आधारमा निर्णय गराउने पक्षमा प्रदेश नंं २ को सरकार रहेक छ । सरकारले त्यसका लागि प्रमुख प्रतिपक्षी नेकपा तथा प्रतिपक्षी नेपाली कांग्रेससँग औपचारिक तथा अनौपचारिक वार्ता अगाडि बढाएको प्रदेश नंं २ सरकारका प्रवक्ता कानूनमन्त्री यादवले बताउनुभयो ।
प्रदेश नंं २ मा समाजवादी पार्टीको ३०, राष्ट्रिय जनता पार्टीका २५, नेकपाका ३२ तथा नेपाली कांग्रेसका १९ जना प्रदेश सभाका सदस्य रहेका छन् । प्रदेश नंं २ मा १ सय ७ सदस्य रहेका छन् । दुई तिहाईका लागि ७७ मत आवश्यक पर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button