तपाईँ सुन्दै हुनुहुन्छः

सात दर्जनभन्दा बढी काठेपुलको यात्रा गर्न वाध्य छन् हुम्लीबासी

सिमकोट साउन ३२ गते । हिमाली जिल्ला हुम्लाका जनता अहिलेको अवस्थामा पनि सात दर्जन भन्दा बढी काठेपुलमा जोखिम मोलेर यात्रा गर्न वाध्य छन् । साना र ठूला खोलामा कतै पनि झोलुङ्गे पुलको व्यबस्था नहुँदा स्थानीय जनताको जनश्रमदानबाट बनेका ती काठे पुलमा तर्नु परेको हो ।
हुम्ला जिल्लाका सातवटै गाउँपालिकामा साना ठूला खोलामा ८४ वटा काठेपुल भएको गाउँपालिकाको तत्थ्याङ्कले देखाएको छ । केही वर्षयता आधा दर्जन भन्दा बढी मानिसको काठेपुल तर्ने क्रममा खसेर मृत्यु भएको छ । तीन दर्जन भन्दा बढी पशुवस्तु खसेर मृत्यु भएको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताउनुभयो ।
गत दुईवर्षमा सल्ली र टाक्ची खोलाका काठेपुलबाट खसेर दुई जनाको मृत्यु भएको र दश भन्दा बढी पशुवस्तु खसेर क्षति भएको उहाँले बताउनुभयो । नाम्खामा कर्णाली नदीका सहायक नदीहरु बढी भएकाले पनि काठेपुलबाट स्थानीयले तर्नु परिरहेको छ ।
सिमकोट गाउँपालिका वडा नम्बर १ मा पर्ने डाँडो साँघुमा एकवर्ष अघि यही समयमा एकजना युवा काठेपुल तर्ने क्रममा खस्दा मृत्यु भएको वडाध्यक्ष ताराबहादुर लामाले बताउनुभयो । त्यो सँगै गतवर्ष नै चीनसँगको चुँवाखोला नाकामा खाद्यान्न तथा लत्ता कपडा बोकाएर ल्याएका एकदर्जन पशु काठेपुलबाट खसेको थियो । दोजाम कर्णालीले बगाए पनि पशुबारे पत्ता नलागेको उहाँले बताउनुभयो । त्यस भन्दा अघि अर्की महिला खसेर मृत्यु भएको थियो ।
सिमकोट गाउँपालिकामा बीसवटा कोठेपुल भएको पालिका अध्यक्ष पदमबहादुर लामा बताउनुहुन्छ । यी काठेपुल मध्य केही निक्कै जोखिमयुक्त छन् । सबै भन्दा बढी काठेपुल भएको सर्केगार्ड गाउँपालिकामा बीसवटा काठेपुल भएको उक्त गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष कर्णजङ शाहीले बताउनुभयो ।
यता खार्पुनाथ गाउँपालिकामा १५ वटा काठेपुलबाट स्थानीय बासिन्दाहरु तर्न बाध्य भएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो । धन्न कर्णाली नदीमा यस्ता काठेपुल नभए पनि अन्य ठूला मानिस तर्न नसकिने खोलामा काठेपुलमा जोखिम उठाएर जनता तर्न वाध्य भएको उहाँले बताउनुभयो ।
यता चंखेली गाउँपालिकामा १२ वटा काठेपुलबाट तर्न स्थानीय जनताहरु वाध्य भएको वडा नम्बर ४ की स्थानीय सीता शाहीले बताउनुभयो । चीनसँगको व्यापारिक नाका टाके जाने क्रममा दर्बी कर्णालीमा कोठेपुलमा यसअघि मानवीय तथा पशुवस्तुको क्षति धेरै व्यहोर्नु परिरहेको उहाँले बताउनुभयो । अन्य विकल्प नभए पनि जनता शरिर कमाएर तर्ने गरेको उहाँको भनाई छ । यता अदानचुली गाउँपालिकामा चार वटा काठेपुल भएको र ती खोला ठुलै भएको कारण यस अघि साबिकको जिल्ला बिकास समितिबाट झोलुङ्गे पुल निर्माण गर्नका ठेक्कापट्टा गरेको भए पनि हालसम्म पुल निर्माण नहँुदा जनता  काठेपुलमै तरिरहेको उहाँले बताउनुभयो । काठेपुलमा तर्दा पशुवस्तु धेरै खसेर मरेको समेत उहाँले बताउनुभयो । क्षेत्रफलका हिसाबले स्यानो गाउँपालिका ताँजाकोटमा पनि छवटा काठेपुलबाट स्थानीयले तर्नु परिरहेको छ । झोलुङ्गे पुल निर्माणका लागि लागत धेरै लाग्ने भएको कारण गाउँपालिकाहरु त्यसतर्फ ध्यान दिएको भने पार्इंदैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button