तपाईँ सुन्दै हुनुहुन्छः

खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि समितिविहीन

खप्तड ,३२ साउन । खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि समितिविहीन छ । नयाँ समिति गठन नहुँदा कुनै कामकाज हुन सकेको छैन ।

समिति नबन्दा यहाँ कार्यरत कर्मचारीले १३ महीनाको तलबसमेत नपाएको समितिका शाखा अधिकृत प्रेम कुँवरले बताउनुभयो । समितिको कार्यालयमा पाँच कर्मचारी करारमा काम गर्दै आएका छन् । “तलब नपाउदा काम चलाउन समस्या भएको छ”, उहाँले भन्नुभयो । करारमा शाखा अधिकृत कुँवरसहित सवइञ्जिनीयर दीपेश महतरा, कार्यालय सहयोगीहरु धनवहादुर सिंह, शशी सिंह र लोक रावल कार्यरत छन् ।

गत असोजमा समितिको समयावधि सकिएको हो । पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय तथा गठनसम्बन्धी जिम्मेवारीको अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गरिएको छ । प्रदेश सरकारको गत चैत १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट ‘खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन आदेश, २०७५’ स्वीकृत भए पनि अहिलेसम्म नयाँ समिति बन्न सकेको छैन । समिति गठन र कार्यकारी निर्देशकको नियुक्ति प्रदेश सरकारले गर्ने व्यवस्था छ । प्रदेश सरकारले चासो नदिँदा समितिको काम अलपत्र छ ।

समिति नबन्दा यहाँको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रचारप्रसार तथा पर्यटन विकास ओझेलमा परेको समितिका पूर्वअध्यक्ष पूर्णराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षौँसम्म निस्कृय हुनु राम्रो होइन, चाँडो समिति र निर्देशक चयन गरिनु पर्छ ।”

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले खप्तड क्षेत्र पर्यटन विकास समितिको गठन प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “समिति गठन गर्ने तयारीमा छौँ, चाँडै खप्तडले पूर्ण समिति पाउँछ”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button