तपाईँ सुन्दै हुनुहुन्छः

कोसी ब्यारेजमा कोसीपीडितको अनिश्चितकालीन आन्दोलन

सुनसरी । सप्तकोसी नदीमा आएको बाढीले घरखेत गुमाएका बाढीपीडितहरु क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

कोसी सम्झौताअनुसार भारतीयपक्षले पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध नगराएको भन्दै पीडितहरुले शनिबारदेखि कोसी ब्यारेजमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन् ।

उनीहरुले रिले अनशनसमेत सुरु गरेका छन् ।

सप्तकोसीमा ब्यारेज निर्माण गर्नुअघि नै  नेपाल र भारतबीच कोसी सम्झौता गरिएको थियो ।

तत्कालीन राजा महेन्द्र र भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

ब्यारेज बनेपछि घरखेत गुमाएका परिवारलाई भारत सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने सम्झौता गरेपनि हालसम्म घरखेत गुमाएका १५ हजारभन्दा बढी परिवारले क्षतिपूर्ति नपाएको कोसीपीडित संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीको भनाइ छ ।

सम्झौताअनुसार पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति उपलब्ध नगराएसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ ।

शनिबार उनीहरु सुनसरी, सप्तरी र उदयपुर जिल्लाबाट विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सयौंको संख्यामा कोसी व्यारेजमा उपस्थित भएका थिए ।

विरोध कार्यक्रममा उपस्थित सत्तारुढ दल नेकपाका प्रदेश नम्बर–२ का इन्चार्ज तथा संसदीय दलका नेता सत्यनारायण मण्डलले पीडितलाई भारतीयपक्षबाट तत्काल क्षतिपूर्ति दिलाउन नेपाल सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button