तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका सम्वाददाता अधिकारीको निधन

सञ्जीवविक्रम शाह, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ बरमझियास्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जीप दुर्घटना हुँदा रेडियो नेपालका सम्वाददाता डायल्सन अधिकारीको निधन भएको छ ।

बुटवलबाट आज बिहान विराटनगर जाँदै गरेको जीप राजमार्गमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको र उपचारका लागि लैजाने क्रममा संवाददाता अधिकारीको निधन भएको प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो ।

दुर्घटनामा तिलोत्तममा नगरपाकिला वार्ड नं. १ का वडाअध्यक्ष तामनाथ पाण्डे, वार्ड नम्वर ५ का अध्यक्ष सोहन चौधरी, नेपाल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष जेपी कँडेल र चालक अशोक भण्डारी घाईते भएका छन् । चालकको अवस्था गम्भिर छ ।

राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वर्गीय अधिकारीको शव पोष्टमार्टम गरी परिवारलाई हस्तान्तरण गरिएको प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले आफनो र रेडियो नेपाल परिवारको तर्फबाट संवाददाता अधिकारीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ ।

कार्यकारी निर्देशक कार्कीले संवाददाता अधिकारीको निधनबाट रेडियो नेपालले एउटा इमानदार, कर्तव्यनिष्ट र मेहनती पत्रकार गुमाएको बताउनु भयो ।

यसै गरी नेपाल पत्रकार महासंघ रेडियो नेपाल शाखाका सभापति दुर्गा फुयालले अधिकारीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ ।

त्यसै गरी प्रेस संगठन नेपाल, रेडियो नेपाल शाखा र प्रेस युनियन नेपाल, रेडियो नेपाल शाखाले पनि अधिकारीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

स्वर्गीय डायलसन अधिकारी लामो समयदेखि रेडियो नेपालको रुपन्देही जिल्ला संवाददाताका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button