तपाईँ सुन्दै हुनुहुन्छः

‘यो सरकार जनताका निराशा र भल छोपेर गठन भएको होइन, जनअभिमतबाट बनेको हो’

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सरकारको सम्पूर्ण प्रयास केन्द्रित रहेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुहुँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकार लोकतन्त्र र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘यो सरकार लोकतान्त्रिक अभ्यास र जनताको अभिमतबाट गठन भएको हो । यो सरकार जनताको निराशाको अभिव्यक्ति र भल छोपेर बनेको सरकार होइन ।’
प्रधानमन्त्री ओलीले ठूलो त्याग र बलिदानबाट प्राप्त संविधान अस्विकार गर्ने विषय मान्य नहुने बताउनुभयो । उहाँले, संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताउदै संविधान कार्यान्वयनका बाँकी रहेका काम पुरा गर्न पनि एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका सन्दर्भका एकाध कानुन बाहेक पूर्णता पाएको बताउदै बाँकी कानुन निर्माणको काम यहि अधिवेशनमा सक्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संविधानले भने अनुसार संरचना निर्माण, कानुन निर्माण, समायोजनको मुख्य काम सकिएकाले अब सुशासन र विकासमा ध्यान केन्द्रित गरेरै सबैको साझा र राष्ट्रिय आकांक्षा समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्नतर्फ सरकार अघि बढेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सम्पन्नता हासिल गर्ने, शान्ति सरुक्षा कायम गर्ने र सम्मानपूर्वक नागरिकले जीवनयापन गर्न पाउने कुरामा ध्यान केन्द्रित गर्दै स्थानीय साधन स्रोतको प्रयोग, रष्ट्रिय एकता कायम गर्दै सरकार अघि बढेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले केही गरेन भन्दा भन्दै पनि गएको आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक बृद्धि भएको र आगामी वर्षहरुमा थप आर्थिक वृद्धि हुँदै जाने बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारले केही गरेन भन्ने कुराले सरकारलाई सजग गराएको प्रष्ट पार्नुभयो ।
उहाँले मुलुकमा सुशासन र शान्ति सुव्यबस्था कायम गर्न सरकार प्रतिबद्ध रहेको भन्दै भ्रष्टाचार विरुद्धको कार्वाहीलाई सरकारले निरन्तरता दिएको पनि बताउनुभयो । प्रधानमन्त्रीले सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमित सार्वजनिक जग्गा सरकार र सम्बन्धित निकायको स्वामित्वमा ल्याउन सरकारले पहल गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्रीले छिमेकीसँग सुमधुर सम्बन्ध कायम गरेको त्यो सम्बन्ध भरपर्दो, विश्वासिलो, समानता र पारस्परिक लाभको आधारमा अघि बढाउने सरकारको नीति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा कोही पनि सत्रु छैनन्, सबै मित्र हुन् भन्ने आधारमा नै छिमेकी र मित्र राष्ट्रहरुसँग सम्बन्ध अघि बढाउने सरकारको नीति छ ।’
उहाँले संघीय लोकतान्त्रिक व्यवस्था नयाँ प्रणाली भएकाले पुरानो प्रणालीका पक्षधर यस प्रणालीलाई पूर्णंता हुन नदिने र कमजोर पार्ने भनेर लागिरहेको भएपनि अब यस प्रणालीलाई कसैले पनि कमजोर पार्न नसक्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सम्भवतः एक हप्ताभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुने भन्दै सिफारिस समितिले आयोगका पदाधिकारीको सिफारिस गरे लगत्तै सरकारले ढिला नगरि आयोग गठन गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button