तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक भदौ ४ र ५ गते काठमाडौंमा हुुँदै

काठमाडौँ। नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठक यही भदौ ४ र ५ गते राजधानीमा हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशङ्करले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्वका साथ बैठकको सहअध्यक्षता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुईपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै सम्पर्क सञ्जाल विस्तार, आर्थिक साझेदारी, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत पारस्परिक सहयोगका विविध क्षेत्र र आपसी चासोका अन्य विषयमा विचार विमर्श हुनेछ ।

सन् १९८७ मा नेपाल–भारत संयुक्त आयोग स्थापना भएको हो । आयोगको बैठक नेपाल र भारतमा पालैपालो हुने गरेको छ । यसअघि सन् २०१६ को अक्टोबरमा नयाँदिल्लीमा आयोगको चौथो बैठक भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा भारतका बाह्य मामिलामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मन्त्री सुब्रमन्यम्को सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

भारतका बाह्य मामिलामन्त्री भदौ ४ गते काठमाडौँ आउने र भदौ ५ गते नयाँदिल्ली प्रस्थान गर्ने कार्यतालिका बनेको पनि उक्त मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button