तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा डेंगु सार्ने लामखुट्टे छ्यापछ्याप्ती : यी क्षेत्र सबैभन्दा बढी जोगिखममा

काठमाडौं । काठमाडौं उपत्यकाभित्र डेंगु सार्ने लामखुट्टे देखा परेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा एडिज नामक लामखुट्टेको बिगबिगी छ। यो लामखुट्टेले दिउँसो टोकेपछि मानिसमा डेंगुको संक्रमण हुन्छ।

पछिल्ला तीन महिना असार, सायन र भदौमा उपत्यकामा डेंगुका ११ जना बिरामी देखिएका छन्। महाशाखामा डेंगु रोग हेर्ने सम्पर्क व्यक्ति उत्तमराज प्याकुरेलका अनुसार उपत्यका डेंगुको उच्च जोखिममा छ।

उपत्यकाभर नै डेंगु सार्ने लामखुट्टे भए पनि बानेश्वर, तीनकुने र ताहचल क्षेत्र उच्च जोखिममा रहेको महाशाखाले जनायो ।

डेंगु लागेका बिरामीलाई खुवाउने बेग्लै औषधी हुँदैन। अस्पतालमा नर्सिङ केयरमा बस्ने मात्रै हो । डेंगु लागेपछि ज्वरो, रूघाखोकी लाग्ने, खान मन नलाग्ने, जीउ दुख्नेजस्ता लक्षण देखिन्छन् ।
डेंगु लागेपछि समयमै स्वास्थ्य संस्था नगए बिरामीको मृत्युसमेत हुन सक्छ। दिउँसोपख लामखुट्टेले टोक्दा डेंगु लाग्ने हुँदा बाहुला भएको लुगा लगाउनुपर्छ ।

डेंगु नियन्त्रणका लागि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विभाग, प्रदेश र स्थानीय तहहरूबीच छलफल भएको थियो।

उपत्यकाबाहिर मकवानपुर, कास्की, सुनसरी, उदयपुरमा डेंगु देखिएको छ। यीमध्ये धरान उपमहानगरपालिकामा धेरै बिरामी छन्। दुई हजारभन्दा बढीमा डेंगु देखिए पनि कसैको मृत्यु नभएको महाशाखाले जनाएको छ। यहाँ लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काम नियमित रूपमा भइराखेको छ।

कास्कीमा पनि साउनमा डेंगु देखा परेको थियो। पोखरा महानगर–८ शिवालय क्षेत्रमा १८ जना डेंगुका विरामी भेटिएका थिए। मकवानपुरको हेटौंडा उपमहानगर–४ मा पनि डेंगुका विरामी देखा परेका थिए। ३८ जना विरामीको विभिन्न स्वास्थ्य संस्थाको रेखदेखमा राखिएका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button