तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भारत संयुक्त आयोगको बैठक बुधबारदेखि काठमाण्डौमा

काठमाण्डौ। नेपाल–भारत दुई देशबीचको उच्चस्तरीय संयन्त्र नेपाल–भारत संयुक्त आयोगको बैठक भदौ ४ र ५ गते काठमाडौंमा हुने भएको छ ।
परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशका विदेशमन्त्रीको संयुक्त अध्यक्षतामा आलोपालो रुपमा आयोजना गरिने संयन्त्रको बैठक यसपटक काठमाडौंमा हुन लागेको जानकारी दिनुभयो ।
उहाँले, बैठकमा नेपाल भारतबीचका आर्थिक, व्यापारिक, पारवहन, उद्योग र जलस्रोतको बहुआयामिक उपयोग र दुईपक्षीय हितका विविध विषयमा छलफल हुने जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले बैठकमा दुईदेशका प्रधानमन्त्रीका बीचमा भएका समझदारीलाई कार्यान्वयनमा लैजान ठोस योजना बनाउने, दुईदेशबीच बढ्दै गएको आर्थिक साझेदारीलाई थप सुदृढ गर्ने र बर्षाैदेखि थातीँ रहेको र कार्यान्वयन हुन नसकेका विषयहरुमा पुनरावलोकन हुने स्पष्ट पार्नुभयो ।
बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा परराष्ट्र सचिव, भारतका लागि नेपाली राजदूत, गृह, रक्षा, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, उद्योग, भौतिक पूर्वाधार मन्त्रालयलगायतका प्रतिनिधि सहभागी हुनुहुने छ भने भारतका तर्फबाट भारतीय विदेशमन्त्रीको नेतृत्वमा भारतीय प्रतिनिधिमण्डल सहभागी हुनुहुनेछ ।
भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्नुुहने परराष्ट्रमन्त्री जवालीले जानकारी दिनुभयो ।
मन्त्री ज्ञवालीले भारतमा देखिएको पछिल्लो घटनाक्रम भारतको आन्तरिक मामिला भएको र नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीले प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा दिएको अभिव्यक्तिबारे पत्रकारको जिज्ञासामा परराष्ट्रमन्त्री ज्ञवालीले त्यो पत्याउनै नसक्ने र अस्वीकार्य बक्तव्य भएको स्पष्ट पार्नुभयो ।

सन् १९८८ बाट लगातार हुँदै आएको नेपाल–भारत संयुक्त आयोगको यसअघिको पहिलो र तेस्रो बैठक नेपालमा र दोस्रो र चौथो बैठक भारतमा भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button