तपाईँ सुन्दै हुनुहुन्छः

पर्वत अस्पतालमा डायलासिस र अप्रेशन सेवा

भदौ-सामान्य विरामी समेत रिफर गर्दै आएको आरोप खेप्दै आएको पर्वत अस्पतालले सर्वसाधारणको विश्वास आर्जन गर्न सेवा थप गर्न जुटेको छ । अस्पतालले अप्रेशन सेवादेखि मृगौलाको डायलासिस सेवा दिने तयारी गरेको जनाएको छ ।

अस्पतालमा डायलासिस सेवा र अप्रेशन सेवा शुरु गर्न माथिल्लो निकाय सम्म पहल भैरहेको अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो । गत वर्षदेखि निर्माणाधीन अस्पतालको आधुनिक भवन ५० शैयाको बन्दैछ । अस्पताल विकास समितिका अनुसार एक महिनाभित्रै डिजिटल एक्सरे सेवा सञ्चालन हुँदैछ । भिडियो एक्सरे (अल्ट्रासाउन्ड) र मुटुको इको सेवा सञ्चालन गर्ने तयारी छ । मृगौलाको डायलासिस थपिंदैछ । एनआईसीयू (बच्चाहरूको सघन उपचार) सेवाको पनि तयारी हुँदैछ । ल्याबमा सोडियम पोटासियमको परीक्षण गर्ने सेवा थपिने पहाडीले बताउनुभयो ।

अस्पतालमा सञ्चालित ल्याबमा रगतसँग सम्बन्धित ८० वटासम्म परीक्षण गर्न मिल्ने मेसिन खरिदको तयारी भइरहेको उहाँले बताउनुभयो । हाल १५ शैयाको अस्पतालको क्षमता बढाएर ५० प¥याउने प्रक्रिया सुरु भई भवन निर्माणको काम भइरहेको छ । आवश्यक जनशक्ति व्यवस्थापनबारे सरकारले चासो नदिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

५० बेडको अस्पताल अनुसार दरबन्दी स्वीकृति हुँदा स्त्री, नाक, कान, घाँटी, बालरोग लगायत आवश्यकताअनुसार विशेषज्ञ डाक्टरको दरबन्दी हुने अस्पताल प्रमुख सन्तोषी थपलियाले बताउनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा स्थायी दरबन्दीका २ मात्रै डाक्टर छन् । त्यसबाहेक ल्याब, फार्मेसी लगायतमा २–२ जनाको दरबन्दीको व्यवस्था छ । हाल अस्पतालमा सबै गरी २२ जनाको दरबन्दी छ । ५० बेडको क्षमताअनुसारका जनशक्ति हुँदा डाक्टर सहित ५९ स्वास्थ्यकर्मी हुने अस्पतालले जनाएको छ ।

२०४६ सालमा १५ बेड क्षमताको स्वीकृति पाएर सञ्चालनमा आएको अस्पतालमा हाल ३५ बेडसम्मको सुविधा छ । थप सेवा बिस्तारपछि भने माथिल्लो निकायबाट केही सहयोगको अपेक्षा गरिएको अस्पताल प्रमुख थपलियाले बताउनुभयो । गण्डकी प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटमा केही थप गरेर ५ वटा डायलासिस मेसिन ल्याउने तयारी अस्पतालले गरेको छ ।
चौबिसै घण्टा इमर्जेन्सी सेवा दिनुपर्ने अस्पतालले दरबन्दी अभावकै कारण सिकारु र प्रयोगात्मक अभ्यास गर्ने विद्यार्थीका भरमा सेवा चलाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button