तपाईँ सुन्दै हुनुहुन्छः

८० करोड नतिरेपछि हेलो नेपालको लाइसेन्स खारेज

काठमाडौं । व्यापारी अजयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज भएको छ ।

हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको लाइसेन्स खारेज गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिएका छन् । आइतबार बसेको प्राधिकरण बोर्ड बैठकले व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको उक्त कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नविकरण शुल्क बापतको ८० करोड रुपैयाँ तोकिएको समयमा नदिएका कारण खारेज गरिएको खनालले जानकारी दिए । प्राधिकरणले यसअघि कम्पनीलाई जेठ मसान्तको अन्तिम समयसीमा दिएको थियो । त्यसबेला नतिरेपछि समय सारेर भदौ १ सम्म नतिरे लाइसेन्स खारेज गरिदिने निर्णय गरेको थियो ।

ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गर्नेगरी लाइसेन्स पाएको कम्पनीले २०६४ फगुनमा लाइसेन्स पाएको थियो । नेपाल स्याटेलाइटले मध्य तथा सुदुरपश्चिममा सेवा दिइरहेको छ । उपत्यका बाहिर सेवा दिंदै आएपछि काठमाडौं प्रवेश गर्न पाउने गरी लाइसेन्स पाएको कम्पनीले पछिल्लो समय सेवा विस्तारमा खासै लगानी गरेको छैन ।

प्राधिकरणले लाइसेन्स खारेज गरे पनि ३५ दिनभित्र नेपाल सरकार समक्ष कम्पनीले पुनरावेदन दिन सक्छ । यसरी पुनरावेदनमा सरकारले निर्णय गरेर सुमार्गीको पक्षमा लाइसेन्स यथावत राखिदिने ठाउँ भने कायमै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button