तपाईँ सुन्दै हुनुहुन्छः

आजबाट गौरा पर्व शुरु

डोटी /सुदूरपश्चिमको मौलिक पहिचान बोेक्ने सबैभन्दा ठुलो पर्व ‘गौरा’ आजबाट बिधिबत् शुरुवात हुदैछ । गौराको शुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ । आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ ।
आजको दिनमा ब्रतालुको घरमा ‘बिरुडा’ भिजाएर गौराको शुरुवात गरिन्छ । तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिङ्गारी त्यसभित्र पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलउँको बिरुडा बनाउने प्रचलन छ । बिरुडालाई ‘गौरीको प्रसाद’का रुपमा लिईन्छ । पुजाआजाका क्रममा बिरुडालाई प्रसाद र अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन छ ।
आधिकारीक रुपमा गौरा पर्वको शुरुवात आजबाट अर्थाद भाद्र शुक्ल पञ्चमीबाट हुने भएपनि आंशिक रुपमा जनैपूर्णिमाका दिनबाटै शुरुभईसकेको हुन्छ । जनैपूर्णीमामा गौरा स्थापना गर्ने ठाउँ लिपपोत गर्न शुद्ध माटो ल्याउने, प्रतिप्रदामा लिपपोत गर्ने, द्वितिया÷तृतियमा व्रतालुले लत्ताकपडा धुने÷नुहाउने र चतुर्थीमा बिरुडाका लागि गेडागुडी केलाउने लगायतका काम गरिन्छ । तिनै केलाईएका विरुडा पञ्चमीमा भिजाएर गौराको बिधिबत् शुरुवात गरिन्छ । यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको पाईन्छ ।
सप्तमी र अष्टमीका दुई दिन गौराका बिशेष दिनहरु हुन् । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसंगै उम्रीएको साउँ(धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाई बाजागाजाका साथमा ‘गौराघर’मा भिœयाईन्छ । यसवर्ष षष्ठी र सप्तमी एकैदिन परेकाले प्रतिमा भिœयाउने काम बुधबार हुनेछ ।
गौरा भिœयाईसकेपछि गौराको बास्तबिक रमझम शुरु हुन्छ । यी सबै कामहरु गर्दा मंगल गानका रुपमा ‘मांगल’(फाग)गीत गाउने प्रचलन रही आएको छ । गौराघरमा भिœयाएपछि शुद्ध माटोले लिपपोत गरेको ठाउँमा निङ्गालोबाट बनेको डालोमा पुजाआजा र फाँग गीत गाउँदै राखिन्छ ।
अष्टमीको दिनलाई ‘गौराष्टमी’ भनेर बुझिन्छ । गौराष्टमीका दिन पुजाआजा गर्दै, मंगलगानका साथमा नचाईन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहा विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाहरुका साथमा नचाउने गरिन्छ । यसै दिनदेखी ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ । हिजोआज भने गौराका अरु दिनहरुमा पनि देउडा खेल्ने गरिएको पाईन्छ ।
गौरालाई यसक्षेत्रमा गौरा बाहेक, गमरा, गोःरा, गवरा आदी नामले पनि सम्बोधन गरिन्छ । यी सबैको अर्थ भगवान शिबपत्नि पार्वतीको नाम नै रहेको जानकारहरुको बुझाई छ । गौरालाई धेरैजसो ठाउँहरुमा ब्रत पनि भनिन्छ । महिलाहरु व्रत बसेरै पुजा अर्चना गरिने भएकाले यसलाई व्रत भनिएको हो ।अरुण बम

प्रतिक्रिया राख्नुहोस्

Back to top button