तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल एअरलाइन्सको जापान उडानको तयारी पूरा

काठमाण्डौ ।नेपाल वायुसेवा निगमले २९ अगस्ट अर्थात भदौ १२ गतेदेखि जापानको ओसाका उडानको सबै तयारी पूरा भएको  छ ।नेपाल वायु सेवा निगमको कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर निगमका अध्यक्ष मदन खरेलले भदौ १२ देखि निगमको वाइडबडी जहाजले जापानको ओसाका उडानको सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।

‘हाम्रो सबै तयारी पूरा भएको छ, निगमको वाइडबडी जहाजले ओसाका उडान गर्नेछ’, अध्यक्ष खरेलले भन्नुभयो । ओसाका व्यापारिक हिसाबले उत्कृष्ट नभए पनि छिटो अनुमति पाउने भएकाले आवेदन दिएको र अनुमति पाएको पनि निगमले जनाएको छ ।

निगमले ओसाकामा हप्ताको ३ वटा उडान गर्नेछ । पहिलो उडानका लागि १५० को हाराहारीमा टिकट बुकिङ भएको र अगस्ट, सेप्टेम्बरमा यात्रु बढाउन संघर्ष नै गर्नुपर्ने निगमले स्वीकार गरेको छ ।

निगमले आउँदो जनवरीदेखि टोक्योको नारिता विमानस्थलमा उडान गर्ने गरी तयारी भैरहेको पनि जानकारी दिएको छ  । त्यसैलाई मध्यनजर गर्दै निगमले नारिता उडानलाई प्राथमिकता दिएर आवेदन दिएको र अनुमति पाउनेमा निगम आशावादी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button