तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा तीन विधेयक टेवुल

काठमाण्डौ । राष्ट्रिय सभाको बुधबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीन विधेयक टेवुल भएका छन् ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट प्राप्त प्रहरी समायोजन विधेयक २०७६, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय विधेयक २०७६ र वातावरण संरक्षण विधेयक २०७६ टेवुल गर्नु भएको हो ।
बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले प्रस्तुत गर्नु भएको काठमाडौं उपत्याका सार्वजनिक यातायात व्यवस्था प्राधिकरण विधेयक २०७६ लाई छलफलका लागि विधायन व्यवस्थापन समितिमा पाठाएको छ ।
यस्तै, बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
यसअघि बैठकको शुरुमा सांसदहरुले कोशी बाँध लगायतका भारतसँग भएका सम्झौता कार्यान्वयन नहुँदा उत्पन भएको समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरु सुमनराज प्याकुरेल, कोमल ओली लगायतले भारतका विदेशमन्त्री र नेपालका परारष्ट्रमन्त्री बीच हुने नेपाल–भारत संयुक्त बैठकमा दुई देशबीच भएका सम्झौता कार्यान्वयन नहुँदा उब्जिएको समस्याका विषय गम्भिर भएर छलफल गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँहरुले कोशी बाँध, सिमानामा रहेका विभिन्न बाँधहरु र खुला सिमानाका कारण उत्पन्न बाढी डुवान लगायतका समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरुले देशका विभिन्न भागमा आत्महत्याको घटना बढेको, नारा जुलुस र घेराउ जस्ता क्रियाकलाप गरेर प्रहरी प्रशासनले गरिरहेको अनुसन्धानमा प्रभाव पार्ने काम भैरहेको भन्दै यस्ता कार्य रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले वर्षेनी सवारी साधन आयात गर्दा ठूलो रकम लगानी हुने गरेको भएपनि गुणस्तरीय सामाग्री र मर्मतका लागि प्रभावकारी व्यवस्था नहुँदा लगानी सदुपयोग हुने वातावरण बन्न नसकेको र उपभोक्ता ठगिने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयोे ।
सांसदहरुले नागरिकता विधेयक संसदमा दर्ता भएको एक वर्ष पुग्दा समेत टुङ्गोमा पुग्न नसक्दा धेरै नेपाली नागरिकता पाउनबाट बञ्चित हुनु परेको तथा रोजगारी र अध्ययनका लागि समस्या सिर्जना भईरहको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button