तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा राष्ट्रिय निकुञ्जभित्रका दुर्लभ जन्तुको सुरक्षा चुनौती बढ्दै

पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु हुने क्रम बढ्दै गएपछि यसको सुरक्षा चुनौती बढ्दै गएको छ । पथलैया अमलेखगञ्ज क्षेत्रमा रहेको निकुञ्जको ‘कोर’ क्षेत्रमा राजमार्ग भएकाले सवारी साधनको आवागमन अत्यधिक भएकाले सवारी साधनको ठक्करबाट मृत्यु हुने क्रम बढ्दै गएकाले यसको सुरक्षा चुनौती बढ्दै गएको हो ।

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा सवारी साधनको ठक्करबाट ४७ वन्यजन्तुको मृत्यु भएको छ । ठक्करबाट दुर्लभ पाटेबाघ एक, जरायो एक, चित्तल १८, बँदेल १५, इन्देन सिभेट एक, सुनगोहोरो एक, बाँदर सात गरी ४७ जनावरको मृत्यु भएको छ ।

यसैगरी गत आव २०७४÷७५ मा सवारी साधनको ठक्करबाट सडक दुर्घटनामा परी ३७ जनावरको मृत्यु भएको थियो । निकुञ्जको मध्य भागबाट राजमार्ग गएकाले सवारी साधनहरु अत्यधिक गतिमा गुड्ने गरेकाले जनावरहरुको आवागमनमा नकारात्मक असर परिरहेको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अशोककुमार रामले राससलाई बताउनुभयो ।

निकुञ्ज प्रशासनसमक्ष सबभन्दा ठूलो चुनौतीका रूपमा रहेको जनावरहरु सडक दुर्घटनामा मर्ने क्रमलाई रोक्न चालकहरुलाई सचेत गराउने, पर्चा, पम्प्लेट र स्टिकर वितरण गरी चेतना फैलाउने काम शुरु भएको बताइएको छ ।

त्यसैगरी निकुञ्जभित्र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएपछि १६ किलोमिटर सोलार फेन्ट तारबार गरिएको छ । उक्त सौर्य तारबारमा प्रत्येक तीन सेकेण्डमा करेन्ट प्रवाह हुने गरेकाले यसबाट मानव र वन्यजन्तु बीचमा हुने द्वन्द्व केही मात्रामा कम भएको बताइएको छ ।

हाल निकुञ्जभित्र पाटेबाघ १८, गौरीगाई १०५, हात्ती ४५ र गैँडा सात वटा रहेका छन् । पथलैयादेखि अमलेखगञ्जसम्म सात किलोमिटर क्षेत्रमा पेट्रोलियम पदार्थको पाइपलाइन गाडिएकाले बाटो फराकिलो हँुदा सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने क्रम कम भएको निकुञ्ज प्रशासनले जिकिर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button