तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सकको सल्लाह बमोजिम स्वदेश फर्कने मिति तय हुने(विज्ञप्तिसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि विहिबार अपरान्ह सिंगापुर प्रस्थान गर्नुभएको छ ।
थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ प्रधानमन्त्री सिंगापुर प्रस्थान गर्नुभएको हो ।
अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले एक विज्ञप्ति जारी गरेर जनाए अनुसार, अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो । “एण्टीबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नु भएको हो” डा.सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञको टोलीले उहाँको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने विज्ञप्तिमा जनाइएको छ ।
सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अवस्थाको उल्लेखनीय जानकारी भएमा सञ्चार माध्यमलाई जानकारी गराउने डा.सिंहले जनाउनुभएको छ । “प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई अवगत गराउने नै छौं ” डा. सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिनेछ ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीसहित मन्त्रीहरुले विदाई गर्नुभएको थियो ।

                                                                 (विज्ञप्तिसहित)

प्रतिक्रिया राख्नुहोस्

Back to top button