तपाईँ सुन्दै हुनुहुन्छः

सुन तोलको ७२ हजार ५००

काठमाडौँ। पछिल्लो डेढ महिनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आईतबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाला सुनको मूल्यमा प्रतितोला रु. एक हजार २०० ले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला रु. ७२ हजार ५०० कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु. ७१ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु. एक हजार २०० का दरले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु. ७२ हजार २०० पुगेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु. ७१ हजारमा कारोवार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । यसअघि प्रतितोला रु. ५÷१० का दरले वृद्धि हुँदै आएको चाँदीको मूल्यमा आज प्रतितोला रु. २० वृद्धि भएको छ । स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला रु ८५० पुगेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला रु ८३० मा खरीदबिक्री भएको थियो ।

गत साउनको शुरुवातदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो । साउन महीनामा सुनको मूल्य प्रतितोला रु. सात हजार र चाँदीको मूल्य प्रतितोला रु. ९५ ले वृद्धि भएको थियो । भदौ महीना लागेपछि पनि दुई पटक सुनको मूल्य वृद्धि भएको छ । भदौमा छापावाला र तेजाबी सुन प्रतितोला रु. एक हजार ५०० ले वृद्धि भएको छ ।

साउन १ गते छापावाला सुन प्रतितोला रु. ६४ हजार ५००, तेजाबी सुन रु. ६४ हजार २०० र चाँदी प्रतितोला रु. ७४५ मा कारोबार भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५००, तेजाबी सुन रु ७१ हजार २०० तथा चाँदी प्रतितोला रु ८४० मा कारोबार भएको महासङ्घले जनाएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५२८।५० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०÷२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button