तपाईँ सुन्दै हुनुहुन्छः

रवि लामिछाने ५ लाख धरौटीमा रिहा

चितवन । पत्रकार शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की रिहा भएका छन्।

जिल्ला अदालत चितवनले रवि लामिछानेलाई पाँच लाख धरौटी तोकेको छ। त्यसैगरि जिल्ला अदालतले युवराज कंडेललाई ३ लाख धरौटी र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्ने फैसला सुनाएको छ।

अब अभियुक्तहरु हिरासत बाहिर रहेर मुद्दा लड्नेछन्। अदालतले रविलाई मूख्य दोषी ठान्दै ५ लाख धरौटीमा रिहा गरेको हो। रुकु भनिने अस्मिता कार्की भने साधारण तारेखमा रिहा भएकी छिन्।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले काठमाडौंबाट पक्राउ गरेको थियो।

शालिकराम पुडासैनीले आत्महत्या अघि अस्मिता भनिने रुकु कार्की, लामिछाने र कंडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको हो।

पुडासैनी साउन २० गते चितवनको होटल कांगारुमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए। उनले सिधा कुरा जनतासँगको कार्यक्रम छाडेर माउन्टेन टेलिभिजनमा काम गरेका थिए। सिधा कुरा जनतासँग कार्यक्रम छाडेपछि आफूले धेरै धम्की खेपेको र आत्महत्या गर्न बाध्य भएको पुडासैनीले भिडियोमा उल्लेख गरेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button