तपाईँ सुन्दै हुनुहुन्छः

कारागारका कैदीबन्दी महिलाको सामूहिक दर

झापा। जिल्ला कारागार झापाका कैदीबन्दी महिलाले सामुहिक रुपमा दर खाएर यस वर्षको तीज मनाएका छन् । बिर्तामोडस्थित कञ्चनजंघा इन्स्टिच्युट अफ हेल्थ साइन्सेसको व्यवस्थापनमा कैदीबन्दी महिलालाई आइतबार दर खुवाइएको हो ।
कैदीबन्दी महिलाले दर मात्र खाएनन्, नाचगान गरेर यस वर्षको तीज पनि मनाए ।
नर्सिङ कलेजकी प्रबन्ध निर्देशक रुचि शिवाकोटी न्यौपाने आफ्ना सहयोगीसहित कैदीबन्दी महिलालाई दर खुवाउन बिहानै झापा कारागार पुग्नुभएको थियो । कारागारमा रहेका ९४ जना महिला कैदीबन्दी र तिनका आश्रित ६ जना बालबालिका सामूहिक दर कार्यक्रममा सहभागी भएका थिए ।
कारागारकी महिला चौकीदार प्रमुख भैरवादेवी श्रेष्ठले सामूहिक रूपमा दर खान पाउँदा महिला कैदीबन्दी निकै खुशी भएको बताउनुभयो । कतिपय महिला कैदीबन्दी नर्सिङ कलेजकी प्रबन्ध निर्देशक न्यौपानेलाई अँगालो हालेर भावुक भएका थिए । दर खान पाउँदा कैदीबन्दी वृद्धाहरूमा खुसीको सीमा थिएन ।
चौघेराभित्र रहेका कैदीबन्दी महिला दिदी–बहिनीको मुहारमा खुसी ल्याउन सामूहिक रूपमा दर खुवाएको भन्दै नर्सिङ कलेजकी प्रबन्ध निर्देशक न्यौपानेले महिला कैदीबन्दीलाई आगामी वर्षहरुमा पनि दर खुवाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button