तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुका १५ प्रतिशत खेतमा रोपाई भएन

सल्यान(सोलुखुम्बु) – यस वर्ष ढिलो मनसुन शुरु भएर पानीको मूल नफुट्दा करिब १५ प्रतिशत खेतमा धान रोपाई गर्न हुन सकेन । मनसुनसँगै खोला खोल्सामा प्रशस्त पानी नपलाएपछि सोलुखुम्बुका धान रोपाई हुने क्षेत्रहरुमा कृषकहरु रोपाइ गर्न नपाएर निराश बनेका छन् ।

अघिल्लो वर्ष शतप्रतिशत धान रोपाई भएकोमा यस वर्ष स–साना खोल्सा नपलाएपछि करिब ८५ प्रतिशत मात्र धान रोपाई भएको कृषकहरुको भनाइ छ । अधिकाँश रोपाई गरेका कृषकहरुले पनि यस वर्ष खोलामा पानी नपलाएकाले समयमानै खेतमा धान रोपाई गर्न नसकेको कृषकहरु बताउँछन् ।

एक दर्जनभन्दा बढी गाविसका करिब एक हजार पाँच सय हेक्टरमा धान खेती हुने सोलुखुम्बुका नेचा, सल्यान, काँगेल, पञ्चन, देउसा, मुक्ली तथा जुबु गाविसहरु धान खेतीका लागि बढी प्रसिद्ध मानिन्छन् । जिल्लामा स्थानीय चामलको अधिकाँस माग यही क्षेत्रको उत्पादनले धान्ने गरेको छ । भौगोलिक रुपमा विविधता भएको जिल्ला भएकाले यहाँ जेठदेखि शुरु गरिएको धान रोपाई साउनसम्म हुने गर्दछ ।

पानीको अभावमा धानको बिऊ मुश्किलले राख्न पाएका कृषकहरु समयमा पानी नपर्दा खेतमा नै विऊ छिप्पिएर गएको बताउँछन् । पानी अभावका कारण यस पटक समयमानै धान रोपाई गर्न नपाएको नेचा सल्यान–१ रुङ्गाका कृषक सुवास राउतले बताउनुभयो ।

अघिल्ला वर्ष समयमा पानी पर्दा छिटै रोपाई सकिएको अनुभव सुनाउँदै नेचासल्यान गाउँपालिका–२ का कृषक गोविन्दशरण निरौलाले भन्नुभयो, यस पटक पानी धेरै ढिलो पलायो र कतिपय ठाउँमा पनीको मूल फुटेन, धान रोपाई गर्न नपाउँदा खेतमै धानको विऊ फुलेको छ ।

नेपालको ग्रामीण भेगमा परम्परागत खेती प्रणाली भएकाले खेती गरेअनुसार आम्दानी नहुने छँदैछ, पानी कै अभावका कारण धेरै खेत बाँझै रहेको कृषकको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button