तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकी डाईभर्सनको विरोधमा महिलाले गाए यस्तो तीज गीत

‘दिन्नौ हाम्ले कालीगङ्गा लान कुनै नेतालाई ।
झुटा प्रचार नगरे नि हुन्थ्यो बरिलै ।।
उठ्छौँ हामी महिला पुरुष सबै एकजुट भएर । डराउँदैनौ हिड्छौ हामी नारा लाएर ।।’

तीजको अवसर पारेर यसरी तीजको गीत बनाई कालीगण्डकी नदी आसपासका स्थानीयले नदी डाइभर्सनको बिरोध गर्न थालेका छन् । पाल्पा रामपुर ५ का रहेका महिलाहरुले सामुहिक दर कार्यक्रमको आयोजना गरी गितका माध्यमबाट कालीगण्डकी नदी डाइभर्सन बिरुद्ध गीत प्रस्तुत गरेका छन् ।
प्रदेश नम्बर ५ र गण्डकी प्रदेशको साँझा नदी कालीगण्डकीलाई पाल्पा र स्याङ्गजाको राम्दी भन्दा केही तलबाट डाईभर्सन गरेर तिनाउमा लैजाने सरकारी योजनाको उनीहरुले बिरोध गरेका हुन् । संघीय संसदमा समेत चर्चामा आएको कालिगण्डकी नदी डाइभर्सनको बिषयले अहिले ५ नम्बर प्रदेश र गण्डकी प्रदेश मात्र होइन समग्र देशमा नै माहोल तातेको छ ।
केन्द्रसम्म माहोल बढेपछि यहाँका स्थानीयहरु कालीगण्डकी नदीको बचाउमा लागेका छन् । नदी डाइभर्सनले तल्लो क्षेत्र सुख्खा हुने भन्दै अस्तित्व बचाएको काली नदीको महिमा, सम्पदा जोगाउन र स्थानीयको अधिकारलाई पहिलो प्राथमिकता दिन आह्वान गरेका छन् ।

‘जन्मेपछि मर्नैपर्छ संसारमा आएर ।
मर्नै परे मर्छौ बरु गोली खाएर ।।
छुनै दिन्नम् कालीगङ्गा एकता छ जनताको ।
कत्ति डर मानिदैन् त्यस्ता नेताको ।।’

समाज सुधार आमा समूहका महिलाहरु एकताबद्ध भई यस्तै गीतबाट कालीगण्डकी नदी डाइभर्सनको कडा रुपमा बिरोध गरिरहेका छन् । डाईभर्सन पक्षधरहरुले यो पानीबाट रुपन्देही, कपिलवस्तु र नवलपरासीका केही भाग सिंचाई गर्ने र केही विद्युत निकाल्ने बताईएको छ । राम्दीमा पनि विद्युत निकाल्ने योजना पनिे छ ।

‘यति खबर पुर्याइदिनुस् प्रधानमन्त्री ओलीलाई,
अंग्रेजलाई नि जितेका हुन् जनता बरिलै ।
मुक्तिनाथ मुस्ताङ्गदेखि देवघाटसम्म बगेको, पुजा गर्ने शालिकरामको जन्म भएको ।।
हेर्न हाम्ले सकिदैन कालीगंगा थुनेको । आजभोलि व्यापकै छ हल्ला सुनेको ।।
आजभोलि नेताभन्दा जनता बाठा तगडा । कालीगंगा लैजाने त कुरै नगर ।।
दिन्नौ हाम्ले कालीगंगा कुनै नेतालाई ।
झुटा प्रचार नगरे नि हुन्थ्यो बरिलै ।।
उठ्छौँ हामी महिला पुरुष सबै एकजुट भएर। डराउँदैनौ हिड्छौ हामी नारा लाएर ।।’

गण्डकी प्रदेशले यो योजनाको खुलेर बिरोध गरेको छ । डाइभर्सनले कालीगण्डकी क्षेत्रको धार्मिक, सांस्कृतिक, वातावरण, जलचर, पशुपन्छी र स्थानीयको जीवनलाई सिधँै असर पु¥याउने जस्तै, पानीका मुल सुक्ने, बोटविरुवा नहुर्किने, गर्मी बढ्ने र रोगब्याधि लाग्ने हुँदा यसलाई रोक्न गीतबाट छेड हानिएको हो ।
दामोदर कुण्डबाट बहेको नदी झण्डै दर्जन बढी धार्मिक तिर्थस्थल, मन्दिर, घाट हुँदै देवघाटमा मिसिएकोमा यसको अस्तित्वसँग जोडिएकोले कालीगण्डकीलाई बचाउन स्थानीय तीजगीत मार्फत पनि जुरमुराएका हुन् ।
यो योजनाका बिरुद्ध ५ नम्बर प्रदेशको पाल्पाका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउपालिका, गण्डकी प्रदेशको स्याङ्गजाका गल्याङ्ग नगरपालिका, चापाकोट नगरपालिका, तनहुँको घिरिङ्ग, रिसिङ्ग गाउँपालिका, नवलपुरको बौदिकाली गाउँपालिका बुलिङ्गटार गाउपालिका लगायत १० स्थानीय तहका स्थानीयवासी एकजुट भएर लागेका छन् । प्रभावित ४ जिल्लाका जनप्रतिनिधि तथा स्थानीयहरु मिलेर संघर्ष समिति गठन गरेका छन् ।
रामपुर नगरपालिका सहित प्रभावित अन्य स्थाीय तहले धेरै थोरै बजेट बिनियोजन गरी कालीगण्डकी बचाउ अभियानलाई तिब्र पारेको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । नदी बगेको पानी मात्र नभएर यसको अस्तित्व मानव जीवनसँग जोडिएको कालीगण्डकी नदीका बिषयमा अध्ययन गर्नुभएका नदीबिद् डा. कुलराज चालिसेले बताउनुभयो ।
विश्वमा शालिग्रामको ईतिहास बोकेको कालीगण्डकीबाट फाइदा झन लिन सकिन्छ चालिसेले भन्नुभयो । तल्लो क्षेत्रको धार्मिक, सामाजिक र साँंस्कृतिक अवस्था खलबलिन नहुनेमा उहाँको जोड छ । चालिसेकै नेतृत्वमा यो योजनाको शुरूवाती चरणमा डाइभर्सनको बिरोध स्वरुप २०७१ साल साउनमा सवा करोड वेलपत्रको शिवलिङ्ग बनाई सतरुद्री गरेर बेलपत्र राम्दीदेखि नदीमा बगाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button