तपाईँ सुन्दै हुनुहुन्छः

हल्दिबारीमा लोपोन्मूख मेचे भाषामा पठनपाठन शुरु

झापा, भद्रपुर – लोपोन्मूख मेचे जातिको बोक्लो बसोबास रहेको झापाको हल्दिबारीमा मेचे भाषामा पठनपाठन सुरु भएको छ ।

हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट, नीति तथा कार्यक्रमा नै लोपोन्मुख मेचे जातिको भाषा, धर्म र संस्कृति जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम ल्याएपछि पाठ्यक्रम तयार पारी वडा नम्बर ४ स्थित दीपेन्द्र प्राथमिक विद्यालयमा मेचे भाषाको पठनपाठन शुरु गरिएको हो ।

यस वर्ष कक्षा १ मा पठनपाठन भइरहेको र आगामी वर्षहरुमा अरु कक्षामा पनि पढाई हुने गरी थप पाठ्यक्रम तयार पारिने गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन बताउनु हुन्छ ।

मेचे भाषाको पठनपाठनका लागि यस वर्ष गाउँपालिकाले रु. २ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको उपाध्यक्ष डम्बरबहादुर गिरीले जानकारी दिनुभयो ।

पठनपाठनका लागि समुदायका बौद्धिक व्यक्तित्व सन्थलाल मेचेले ‘जङ्नी राउ’ थाख—१ नामक पुस्तक लैख्नुभएको छ । कक्षा १ को लागि तयार पारिएको पुस्तकमा ३७ भाग र ९५ पृष्ठ रहेको छ ।

उक्त पुस्तकको विमोचन गाउँपालिकाले भदौ १३ गते आयोजना गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा सङ्घीय संसद् सदस्य राजेन्द्र लिङदेनले गर्नुभएको थियो ।
पुस्तक विमोचनपछि विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

सोही पुस्तक पढाउन थालिएको प्रधानाध्यापक दीर्घराज आचार्यले जानकारी दिनु भयो । हाल सो विद्यालयमा पढिइरहेका १३१ विद्यार्थीमध्ये ५५ जना मेचे समुदायका छन् । कक्षा १ का लागि तयार पारिएको मेचे भाषाको पुस्तक अरु कक्षाका मेचे जातिका विद्यार्थीलाई समेत पढाउन थालेको मेचे भाषा शिक्षिका सुनिता मेचेले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button