तपाईँ सुन्दै हुनुहुन्छः

डेंगु र स्क्रबटाइफसबाट चारजनाको मृत्यु

चितवन – डेंगु र स्क्रबटाईफसबाट साउन यता भरतपुरका दुई मेडिकल कलेजमा गरी चारजनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा तीन जना र पुरानो मेडिकल कलेजमा एकजनाको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लोपटक गैंडाकोटकी २८ बर्षकी युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

अन्य तीनजनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । जसमध्ये गंैडाकोट स्थायी घर भई नारायणगढ बसोबास गर्ने ७१ बर्षीय वृद्धको डेंगुको कारण मृत्यु भएको हो । रौतहटबाट उपचारका लागि आएका ३४ बर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ बर्षीया किशोरीको डेंगु र स्क्रबटाइफस दुबैका कारण मृत्यु भएको केसीले जानकारी दिनुभयो ।

दुबै संक्रमण बढ्दो रहेको छ । जिल्लाका अस्पतालहरुमा साउन यता १ हजार ९सय ८ जनाको डेंगु परिक्षण गर्दा ६सय २३ जनामा संक्रमण देखिएको केसीले बताउनुभयो । जसमध्ये ४ सय ५५ जना चितवनका रहेका छन । यसमध्ये पनि ४ सय १४ जना भरतपुर महानगरपालिकाका रहेको उहांँको भनाई छ ।

महानगरमा संक्रमण बढ्दै गएपछि सचेतनाका कार्यक्रमलाई तीब्र पारिएको छ । जसअन्तर्गत गत शनिबार सचेतना र्याली निकालिएको थियो । दैनिक माईकिङ्ग गर्ने, लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने जस्ता कार्य वडा तहसम्म भइरहेको महानगरले जनाएको छ । केसीका अनुसार स्क्रबटाइफसका विरामीको तथ्यांक संकलन गर्ने काम भईरहेको छ ।
संक्रमण बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पताल भरिएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button