तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा डेंगो र स्क्रब टाइफसका कारण चार जनाको मृत्यु

चितवन । चितवनमा डेंगु र स्क्रब टाइफसका कारण चार जनाको मृत्यु भएको छ । भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैंडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफका कारण मृत्यु भएको हो ।

यस्तै गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेंगुका कारण मृत्यु भएको छ ।
रौतहटबाट उपचारका लागि भरतपुर आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेंगु र स्क्रबटाइफस संक्रमणका कारण मृत्यु भएको छ ।

चितवनका अस्पतालमा साउनयता एक हजार ९०८ जनाको डेंगु परीक्षण गर्दा ६ सय २३ जनामा संक्रमण देखिएको छ । जसमध्ये ४५५ जना चितवनका रहेका छन् । त्यसमा पनि ४१४ जना भरतपुर महानगरपालिकाका रहेका छन् । संक्रमण बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पताल भरिएका छन् ।

यसैविच महानगरमा संक्रमण बढ्दै गएपछि सचेतनाका कार्यक्रम तीव्र पारिएको छ । चितवनमा डेंगु रोगलाई महामारीको रुपमा फैलन नदिन सबै सरोकारवाला निकायहरुले सक्रियताका साथ लाग्ने प्रतिवद्धता जनाएका छन् । भरतपुर महानगर प्रमुख रेनु दाहालले डेंगु रोग नियन्त्रणका लागि महानगरले सबै खालका प्रयास र प्रयत्नहरु गर्ने बताउनुभयो ।
उहाँले जिल्लामा किटको अभाव हुन नदिन महानगरले १ हजार किटको ब्यवस्था गरेको बताउँदै आवश्यक परे थप किट उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।

रोग नियन्त्रण महाशाखाले ३०० किट उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । प्रदेश सरकार स्वास्थ्य मन्त्रालय हेटौँडाले १२५ किट उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button