तपाईँ सुन्दै हुनुहुन्छः

सिनो हाइड्रोलाई सरकारको आग्रह : मेलम्ची आयोजनाको बाँकि काम सम्झौता भएको भोलिपल्टै सुरुगर्नु

काठमाडौं ।  सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोलाई मेलम्ची खानेपानी आयोजनामा ठेक्का सम्झौता हुनासाथ काम सुरु गर्न आग्रह गरेको छ । मेलम्चीको बाँकी कामको लागि छानिएको सिनो हाइड्रोलाई सरकारले यस्तो आग्रह गरेको हो ।


आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले अनौपचारिक रुपमा भएको छलफलमा सिनोलाई सम्झौता भएको भोलिपल्टैबाट कार्यस्थलमा काम सुरु गर्न आग्रह गरेको बताउनुभयो । यो कम्पनी हाल माथिल्लो तामाकोसीको प्रमुख ठेकेदार हो । मेलम्ची आयोजनाको बाँकि कामका लागि छनोट भइसके पनि अहिलेसम्म सिनोले बैंक ग्यारेन्टी ल्याउन बाँकी रहेकाले सम्झौता हुन सकेको छैन ।

सिनोले कुलेखानी तेस्रोमा काम गरेको थियो भने निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा यही कम्पनीले काम पाउँदैछ । मेलम्ची खानेपानी आयोजनाले मुख्य कामलाई दुईवटा प्याकेजमा डिभिजन गरेर ठेक्का लगाएको थियो । दुवै ठेक्कामा सिनो नै छानिएको छ । यसले सुरुङ र हेडवक्र्सका कामका लागि फरक– फरक ठेक्का पाएको छ ।

सरकारले सम्झौता हुनुअघि नै सिनोलाई अनौपचारिक तवरमा मेसिन, उपकरण र जनशक्ति व्यवस्थापन गरेर कार्यस्थलमा तयारी अवस्थामा बस्न आग्रह गरेको हो ।
सिनो हाइड्रो नेपालको जलविद्युत आयोजनाहरुको निर्माणमा अनुभवी कम्पनी हो । संयोग के छ भने यसअघि इटालियन कम्पनी सीएमसीले मलम्चीको ठेक्का पाउँदा सिनो हाइड्रो दोस्रो कम रकम कबोल गर्ने कम्पनी थियो । सीएमसी भागेपछि मेलम्चीको थोरै मात्रै बाँकी रहेको काम सकाउने जिम्मा उसैले पाउँदैछ ।

कम्पनीले हेडवक्र्सतर्फ २९ प्रतिशत बिलोमा गएर ९० करोडमा ठेक्का सकारेको छ भने सुरुङतर्फ १५ प्रतिशत बिलोमा ७५ करोडमा ठेक्का लिन पाउने छ ।

मेलम्ची आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर सरकारले अघि बढाउन लागेको छ । २ वटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको थियो भने बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकेदारलाई दिइएको छ ।

सिनोले हेडवक्र्सतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडानलगायतका काम गर्नुपर्ने छ ।

यस्तै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकेदारसँग समन्वयको काम पनि गर्नुपर्छ ।

सुरुङमार्गतर्फ सिनोले सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ । सुरुङमा भेन्टिलेसन बनाउने काम तथा विभिन्न स्थानमा पाइप आपूर्ति र जडानको काम पनि बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button