तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लाको लागि केरुङ हुदै आएका खाद्यान्न हिल्सा पुग्यो

हुम्ला। हुम्लाको लागि थप कोटाको खाद्यान्न काठमाडौँबाट केरुङ नाका हुँदै हिल्सामा पुगेको छ । ढुवानीको जिम्मा पाएको सप्लायर्स कम्पनीले जेष्ठमै ढुवानीको जिम्मा पाएको भएपनि तिब्बती मार्ग भएर खाद्यान्न ढुवानी गर्ने झन्झटिलो प्रकृयाले गर्दा ४ महिना पछि बल्ल खाद्यान्न हिल्सामा पुगेको हो ।

सबै प्रक्रिया पुरा भएपछि खाद्यान्न केरुङबाट हिल्सा पुग्न तीन दिन लागेको र हाल ढुवानी भएको खाद्यान्न मध्ये सिमकोट शाखाको लागि चार हजार क्विन्टल र नाम्खा गाउँपालिकाको याल्बाङ बिक्री केन्द्रका लागि एक हजार पाँच सय क्विन्टल गरि जम्मा पाँच हजार पाँच सय क्वीन्टल खाद्यान्न हिल्सामा पुगेको नेपाल खाद्य संस्थान सिमकोट शाखाका प्रमुख राम बहादुर बिष्टले बताउनुभयो ।

हुम्ला जिल्लाकै माग अनुसार संस्थानको प्रधान कार्यालयले केरुङ नाकाबाट खाद्यान्न ढुवानीको व्यवस्था गरेको हो । हाल हिल्सामा ढुवानी भएको खाद्यान्न सबै जापानिज चामल भएको र यसको प्रतिकेजी मुल्य साठी रुपैयाँ देखि ७३ रुपैयाँसम्म पर्ने प्रमुख बिष्टलेबताउनुभयो ।

गएको दशैंमा खाद्यान्न अभाबका कारण दुई केजीमा चित्त बुझाएका हुम्लाबासीले हिल्साबाट चामल सिमकोट पुगे पछि यस पालीको दशैंमा भने खाद्यान्नको समस्या नहुने आशा गरेका छन् ।, खाद्य संस्थान हुम्ला शाखाको गोदाममा अहिले पनि केही खाद्यान्न मौजुदा रहेको र हाल हिल्सामा पुगेको चार हजार क्विन्टल खाद्यान्न चाँडै सिमकोट आई पुग्न प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताउनुभयो ।

हुम्लाका लागि खाद्यान्न ढुवानी गर्न हवाई मार्ग भन्दा स्थलमार्ग सस्तो हुने भएकाले खाद्य संस्थानलाई आर्थिक रुपमा पनि फाइदा भएको छ । अहिले केरुङ नाका हुँदै आएको खाद्यान्न प्रति केजी ८४ दशमलब ९५ रुपियाँमा सिमकोट पुग्छ भने सोही खाद्यान्न नेपालगञ्जबाट ११५ रुपैयाँ र सुर्खेतबाट १०५ रुपैयाँमा ढुवानी हुँदै आएको छ । यसबाट प्रतिकिलो २० देखि ३० रुपैयाँ संस्थानलाई आर्थिक रुपमा फाइदा भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button