तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरी पिडितले घर पाएसँगै  बारा, पर्साको प्रभावित क्षेत्रमा खुशियाली

बीरगंज –हावाहुरीबाट प्रभावित बारा, पर्साका ग्रामिण बस्तीहरुमा नेपाली सेनाले निर्माण गरेका घर पिडितलाई हस्तान्तरण भएसँगै खुसियाली छाएको छ ।

गत चैत्र १७ गते आएको बिनाशकारी हावाहुरीको कारण बारा, पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएको थियो । हावाहुरीमा परी बारा, पर्सामा २९ जनाको मृत्यु भएको थियो भने १ हजार २ सय भन्दा बढी घाइते भएका थिए ।

धनजनको क्षतिसँगै झण्डै १ हजार भन्दा बढी परिवारको घर हावाहुरीले उडाउँदा ५ महिनासम्म प्रभावित क्षेत्रका बासिन्दा टेन्टमा आश्रय लिदै आएका थिए । प्रभावित बासिन्दाको पिडालाई मेटाउन नेपाल सरकारले नेपाली सेना मार्फत घरवार बिहिनको घर निर्माण कार्य अगाडी बढाएसँगै अहिले पिडितहरुको घर निर्माण सम्पन्न गरी नेपाली सेनाले हस्तान्तरण समेत गरिसकेको छ ।

मितव्ययिता अनुरुप निर्माण गरिएका घरहरु प्राकृतिक प्रकोप प्रतिरोधी रहनुको साथै उच्चस्तरिय वातावरण मैत्री रहेका छन् ।

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलद्वारा बाराका ८ सय ७ र पर्साका ६२ गरी ८ सय ६९ घरहरु अहिले पिडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

नेपाली सेनाले बाराका कलैया उपमहानगरपालिका, पचरौता र महागढीमाई नगरपालिका, फेंटा, सुवर्णपुर, प्रसौनी, परवानीपुर र देवताल गांउपालिका तथा पर्साको वीरगन्ज महानगरपालिका, बहुदरमाई नगरपालिका र संखुवा प्रसौनी गांउपालिकाका घर निर्माण गरेको थियो ।

घर निर्माण सम्पन्न भएसँगै घरवार बिहिन पिडित परिवारलाई हस्तान्तरण भएसँगै अहिले हावाहुरी प्रभावित बस्तीमा खुसियाली छाएको छ । परिवार गुमाएपनि बस्ने घर पाएपछि दुःख र पिडापछि सुखको अनुभूति भएको भन्दै पिडितहरुले नेपाल सरकार तथा नेपाली सेनालाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button