तपाईँ सुन्दै हुनुहुन्छः

बाग्लुङमा गण्डकी प्रदेश पर्यटन बर्ष समिति गठन

बाग्लुङ। प्रदेश सरकारले घोषण गरेको गण्डकी प्रदेश भ्रमण बर्ष २०१९—२०२२ लाई सफल बनाउन बाग्लुङमा जिल्ला स्तरीय पर्यटन प्रवद्र्वन समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति बाग्लुङको सभाहलमा बसेको भेलाले जिल्ला समन्वय समितिका सभापति राजेन्द्र ढुगांनाको संयोजकत्वमा ९ सदस्य समिति गठन गरिएको हो । जसको सदस्यहरुमा जिल्ला समन्वय समितिका उपसभापति विष्णु प्रसाद भुषाल,प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री,उद्योग वाणिज्य संघ बाग्लुङका अध्यक्ष युवराज भण्डारी,जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम,पर्यटन व्यवसायी राजु खड्का,होमस्टे सञ्चालक हिरा पुन,सामाजिक संघ संस्थाहरुको प्रतिनिधित्व गर्दै चिन्तामणी शर्मा,महिला व्यवसायी ललिता थापा रहनुभएको छ ।

समितिका सदस्यहरुलाई फुलमालाले स्वागत गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्साले भ्रमण बर्ष सफल बनाउने पुर्ण जिम्मेवारी समितिको काँधमा आएको भन्दै जिम्मेवारी पूर्वक काम गर्न आग्रह गर्नुभयो । भ्रमण बर्षका प्रत्यक ईभेन्टहरुमा तपाईहरुको सहयोग र साथ आवश्यक छ,भ्रमण बर्षलाई कसरी सफल पार्ने त्यो सबै जिम्मेवारी अब तपाईकै हातमा आएको छ,मन्त्री लम्सालले भन्नुभयो”यो काममा तेरो मेरो भनेर पूर्वाग्राही ढंगले तपाई प्रस्तुत हुनुहुदैन ।

मन्त्री लम्सालले गण्डकी प्रदेशको कास्की पछि बाग्लुङमा पर्यटनको राम्रो सम्भावना भएको चर्चा गर्दै बाग्लुङको पर्यटन प्रवद्र्वनमा उक्त समितिले राम्रो काम गर्ने विश्वास व्यक्त गर्नुभयो । “यहाँ मनै लठ्ठिने प्राकृतिक सुन्दरता त छदै छ, साँस्कृतिक रुपमा पनि बागलुङ जिल्ला उत्तिकै धनी छ,मन्त्री लम्सालले भन्नुभयो” सदरमुकाम बागलुङ बजारमै रहेको कालीका भगवती मन्दिर हिन्दु संस्कार अनुसार महत्वपूर्ण धार्मिक स्थल हो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष यसै जिल्लामा पर्छ । गाजा दह, संसारकोट, भकुण्डे धुरी, हाडीकोट धुरी, पञ्जाकोट धुरी, चमेरे गुफा, रामकोट, घुम्टेको लेक लगायतका स्थान पर्यटकका लागि आर्कषण केन्द्र बनेका छन् । प्रचार प्रसार र ब्यबस्थापनमा जोड दिन सके यि क्षेत्रमा ब्यबसायिक पर्यटनको विकास हुन सक्ने संभावना प्रशस्त छन् ।
गण्डकी प्रदेश सरकारले पर्यटन बाटनै समृद्वि तथा रोजगारी प्राप्त गर्न सकिने ठहर गर्दै पर्यटनलाई पहिलो प्रथामिकतामा राखेर काम गरेको उहाँको भनाई थियो ।

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण बर्ष, सन् २०२० लाई छिमेकी भ्रमण बर्ष,२०२१ लाई पर्यटन पूर्वाधार बर्ष र सन् २०२२ लाई अन्तराष्ट्रिय पर्यटन भ्रमण बर्षको रुपमा मानाउने घोषणा गरेको छ । प्रदेश सरकारले बाग्लुङमा १० वटा पर्यटकीय मुख्य गन्तव्य मानेको छ ।

उक्त अवसरमा गण्डकी प्रदेश पर्यटन बर्ष मुल समितिका सदस्य सुन्दर पौडेल,जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले बाग्लुङका पर्यटन सम्बन्धी बिषय वस्तु प्रस्तुत गर्नुभएको थियो भने फोटो पत्रकार किरण आचार्यले फोटो पर्यटन प्रस्तुत गर्नुभएको थियो गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button