तपाईँ सुन्दै हुनुहुन्छः

ओझेल पर्दै पानीघट्ट बनाउने व्यवसाय

सल्यान– प्रचार प्रसारको अभावमा पानी घट्ट बनाउने पेसा ओझेलमा पर्दै जान थालेको छ । मिल तथा अन्य प्रविधिको विकास एव विस्तारसँगै परम्परागत घट्ट बनाउने पेशा हराउँदै जान थालेको हो । कुनै समय पिसानीको मुख्य माध्यम बनेको पानी घट्ट हराउँदै जाँदा घट्ट बनाउने पेशा पनि हराउँदै जान थालेको छ ।

जिल्लाको सिद्ध कुमाख गाउँपालिका वडा न ३ फलाटेका दुई दर्जन बढी मानिस घट्ट बनाउने व्यवसाय बनाउदै आई रहेका थिए । घट्टबाट स्थानीयले मनग्य आम्दानीसमेत गर्दै आईरहेका थिए । तर पछिल्लो समय विगतको भन्दा घट्टको माग कम हुदँै जानु तथा युवाहरुमा दुःख गर्ने बानी नहुँदा घट्ट बनाउने पेशा हराउँदै जान थालेको ५३ वर्षिय पुने रेउलेले बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिले घट्ट बनाउन भ्याई नभ्याई हुन्थ्यो । गाउँका २५÷२६ जनाले घट्ट बनाउथे । रुकुम, रोल्पा, सुर्खेतसम्म जान्थ्यो तर आजभोली निकै कम माग हुने गरेको छ ।’

घट्ट बिक्री गरेर हालसम्म आफुले ५० लाख आम्दानी गरेको बताउदै रेउलेले स्थानीय सरकार तथा अन्य निकायले प्रचार प्रसार गरिदिए रोजगारीको लागि अर्को विकल्प खोज्नु नपर्ने बताउनुभयो । १६ वर्षको उमेर हँुदा देखि नै घट्ट बनाउने पेशामा लागेको बताउँदै उनले युवा पिढीमा दुःख गर्ने परम्परा हराउदा चिन्ता लागेको रेउलेको भनाई छ ।

सामान्य तया एक जोडी घट्ट बनाउन २ देखि ३ दिन लाग्ने ६६ वर्षिय नर बहादुर रेउलले बताउनुभयो । घट्टको साइज अनुसार एक जोडी घट्टको मुल्य २० हजार देखि ६० हजारसम्म बिक्री हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘ढुंगाखानीबाट ढुंगा निकाल्न साह्रै गाह्रो छ । ढुंगा निक्लयो भने एक जोडी घट्ट बनाउन एकजनालाई २ देखि ३ दिन लाग्छ ।’ गाउँ गाउँमा डिजल मिलको विकास हुदँै जानु तथा युवाहरु सुख सयल बिताउन थाले पछि घट्ट बनाउने पेशा विस्तारै हराउन थालेको उहाँको भनाई छ ।

सल्यान जिल्लामा मात्रै हालसम्म झन्डै ६ हजार पानी घट्ट रहेको विभिन्न तथ्यांकमा उल्लेख गरिएको छ ।

घट्ट बनाउने व्यवसायलाई संरक्षण एव प्रवद्र्धन गर्न सके गाउँपालिकाको स्वरोजगारको गतिलो माध्यम बन्न सक्ने भएपनि गाउँपालिकाले हालसम्म कुनै पहल लिन सकेको छैन । जिल्लामा सिद्ध कुमाखमा मात्र घट्ट बनाउने ढुंगा पाइने भएकाले त्यसलाई प्रवद्र्धन गर्न सके गाउँपालिकै आम्दानीमा वृद्धि हुने छ । स्थानीय स्तरबाट घट्ट संरक्षणका लागि अहिलेसम्म कोही पनि गाउँपालिकासम्म नआउको गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button