तपाईँ सुन्दै हुनुहुन्छः

गत आर्थिक वर्षदेखि निर्माण शुरु भएको ‘सेमी कभर्डहल’ अलपत्र अवस्थामा

 

डडेल्धुरा। डडेल्धुरामा निर्माणाधीन ‘सेमी कभर्डहल’ अलपत्र अवस्थामा परेको छ । गत आर्थिक वर्षदेखि निर्माण शुरु भएको सो कभर्डहल बजेट अभावका कारण अलपत्र अवस्थामा पुगेको हो ।

जिल्लामा रहेको एकमात्र ४० वर्ष पुरानो टिटी कभर्डहल गत वर्ष साउन महीनामा वर्षात्का कारण भत्किएको थियो । गत आवमा रु १० लाख बराबरको कर्भडहल निर्माणको काम भएको भए पनि चालू आवमा भने कभर्डहल निर्माणका लागि रकम विनियोजन नभएको जिल्ला खेलकूद विकास समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बर भण्डारीले बताउनुभयो ।

कभर्डहलसँगै जोडिएको जिल्ला खेलकूद विकास समितिको कार्यालय पनि भत्किए पछि एक वर्ष यतादेखि भाडाको घरमा सञ्चालन भइरहेको छ । खेल मैदानबाट एक किलोमिटरको दूरीमा कार्यालय हुँदा खेल खेलाउनका लागि समस्या हुने गरेको जिल्ला खेलकूद विकास समितिका भलिबल प्रशिक्षक नरेश थापाले बताउनुभयो । अहिले इन्डोरमै गेम सञ्चालन गर्ने समयमा डडेल्धुरामा कभर्डहल नहुँदा वर्षात्को समयमा जिल्लामा खेलकूद गतिविधि शून्य रहेको उहाँले बताउनुभयो ।

कभर्डहल नहुँदा वर्षात्को समयमा इन्डोरका साथै भलिबल गेम हुन सकेका छैनन् । नेपाली सेनाको स्वामित्वमा रहेको टँुडिखेलबाहेक अन्य खेलमैदान नहुँदा खेलकूद गतिविधिमा कमी आएको छ । त्यसैले खेलकूदको विकासका लागि आवश्यक पूर्वाधारको विकास गर्नका लागि तीनवटै सरकारले पहल गर्नु पर्ने आवश्यकता रहेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button