२०७६ साल भदौ २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

आलेख : शीप सिकेर स्वरोजगार बन्दै पूर्वकम्लहरी

रेडियो नेपाल २०७६ भदौ २५ गते १५:५६

 

बाँके। सात वर्षअघि उहाँका हातमा जुठा भाँडा मात्रै हुन्थे, चार वर्षअघि उहाँलाई राइफल चलाउने रहर भयो तर, अहिले उनका हातहरु कपडा सिलाउने मेसिनको गतिसँगै चलायमान हुन्छ । चार वर्षभित्र बाँके बैजनाथ–१ की २६ वर्षीया सविना चौधरीका हातका शीपहरु देख्ने गाउँलेहरु अहिले चकित छन् ।

कक्षा ७ मा पढ्दापढ्दै आमाको मृत्यु भएपछि अर्थाभावका कारण कम्लहरी बस्न बाध्य सविनाको जीवनमा चार वर्षयता निकै परिवर्तन आएको छ । दाङ, बाँकेलगायतका जिल्लामा पाँच वर्ष कम्लहरी जीवन बिताएकी सविनाले अध्ययन कार्यलाई निरन्तरता दिन नसके पनि आफ्नो जीवनलाई दासताबाट भने मुक्ति दिलाइन् ।

उनी दासताको त्यो जीवनबाट यति खुला र उत्साहित भएर आइन् कि ‘एउटा थारु किसानको छोरीका हातहरु जुठा भाँडा माझ्नलाई मात्र हुन्’ भन्ने समाजलाई बन्दूक समाएर देखाइदिन पाँच वर्षअघि उनी नेपालगञ्जसम्म पुगिन् । नेपाल प्रहरीमा भर्ती खुलेकाले उनी ठूलो उत्साह र जोशका साथ नेपालगञ्ज पुगेकी हुन् तर, बिडम्वना उनको त्यो लक्ष्यमा आफ्नै उचाइ बाधक बनिदियो ।

“प्रहरीमा भर्ती हुन आवश्यक उचाइ नपुगेपछि ममाथि अर्को चुनौती थपियो,” सविना भन्छिन्, “तैपनि म निराश भइनँ । समाजलाई गरेर देखाउने अनेक उपायको खोजी गर्न थालें ।”

समाजलाई बेग्लै काम गरेर देखाउने धोको लिएकी सविनामा अर्को विकल्प जन्मियो – कपडा सिलाउने मेसिन चलाउने । सिलाइकटाइ सिक्न थाल्दा उनले आफूजस्तै पूर्वकम्लहरी सिर्जना चौधरीलाई भेटिन् । बैजनाथ–१ कै २७ वर्षीया सिर्जनामा पनि सविनाको जस्तै समाजमा केही गरेर देखाउने अठोट थियो । दुवैजनाले एक महिनासम्म सिलाइकटाइ सिकिन् । शुरुमा सिलाइकटाइ मेसिन चलाउन डराउने दुबैले अहिले यसैलाई व्यवसाय बनाएका छन् ।

सिर्जना भन्छिन् – “शुरुमा त सकिँदैन जस्तो लाग्थ्यो, घरमा पनि यसले गर्छे भनेर विश्वासै गर्दैन्थे । अहिले व्यवसाय नै शुरु गरेको देखेर अचम्म मान्छन् ।” कुनै दिन मालिकको घरमा जुठा भाँडा माझेर समय खेर फालिरहेका सविना र सिर्जनाले अहिले शीप सिकेर व्यावसायिकरुपमा सिलाइकटाइ पेशालाई अघि बढाइरहेका छन् तर, उनीहरुसामु फेरि पनि समस्या बनेको छ – समाजको अविश्वास ।

“शीप सिकेर मात्र के गर्नु ?, यो केटीले कहाँ राम्रो कपडा सिलाउन सक्छे भनेर धेरैले अझै पनि विश्वासै गर्दैनन्,” सिर्जना भन्छिन् – “हामीहरु भने विश्वास जित्नकै लागि लागिपरेका छौं ।” उता सविनालाई भने अहिले मानिसहरुले काम नदिए पनि अर्काको घरमा दासताको जीवन बिताउनुभन्दा आपंmैं शीप सिकेर कामको खोजी गर्नसक्ने भएकामा सन्तोष छ । “काम खोज्दै गए एक दिन कसो नपाइएला,” सविना भन्छिन् ।

सरकार, सङ्घसंस्था र समाजले आफूहरुजस्ता केही गर्न चाहने पूर्वकम्लहरीको रोजीरोटीका बारेमा विशेष ध्यान दिनुपर्ने सविना र सिर्जनाको माग छ । सरकार र सङ्घसंस्थाहरुले आफूहरुको शीपको उपेक्षा गरेको उनीहरुको गुनासो छ । सविना भन्छिन् – “हामी भएको शीपलाई प्रयोग गरेर जसोतसो खाइरहेका छौं, परिवार पालिरहेका छौं ।” आफूहरुको भाँडा माझ्ने क्षमतामाथि विश्वास गर्नेहरुले सिलाइकटाइको सीपमाथि विश्वास गर्न नसकेको उनीहरुको दुःखेसो छ ।

सविना भन्छिन् – “भाँडा माझ्न थारुका छोरीहरु बाहेक अरु कोही सक्षम छैनन् कि जस्तो गरी खोजी–खोजी लैजाने तर, अरु शीपमा भने विश्वासै नगर्ने ? कुनै दिन अवश्य पनि विश्वास जाग्छ । अहिले केहीले विश्वास गर्न थालेका छन् । त्यसैले त सिलाइकटाइका कामहरु आउन थालेका छन् ।” अहिले उनीहरुको पसलमा कामको चाप बढ्दै गएको छ । सिलाइकटाइ पेशाबाट दैनिक रु एक हजार ५०० देखि रु दुई हजार ५०० सम्म आम्दानी हुने गरेको उनीहरु बताउँछन् ।

“दैनिक आम्दानीले खाना लाउन मात्र होइन केटाकेटीको पढाइ खर्च पनि पुगेको छ,” सविनाले भनिन् । कसैको सहयोगबिनै यही पेशाले आफूहरु आफ्नै खुट्टामा उभिन सफल भएको उनीहरु बताउँछन् । “यो पेशाले हामीलाई निकै राहत दिएको छ,” सिर्जनाले भनिन् । बाँके चिसापानी–५ की सीता चौधरीको पनि आम्दानीको स्रोत बनेको छ, सिलाइकटाइ मेसिन । उनी आजभोलि ग्राहकका कपडा सिलाउनमै व्यस्त छिन् ।
आफ्नै खर्चमा एक महिने तालीम लिएकी उनले यही पेशालाई जीविकोपार्जनको आधारसमेत बनाएकी छन् । आर्थिक स्थिति निकै कमजोर भएकी उनी आफैंले सानो सिलाइकटाइ पसल सञ्चालन गरेपछि आर्थिक अवस्था फेरिएको छ । उनको पसलमा अहिले पुरुषहरुसमेत कपडा सिलाउन पुग्ने गरेका छन् । उनी भन्छिन् – “घरमा खानेकुरादेखि छोराछोरीलाई पढाउने खर्च यसैबाट भ्याएकी छु ।

उनीहरु मात्र होइन विभिन्न शीपमूलक तालीम पाएपछि पूर्वकम्लरीहरु आत्मनिर्भर बन्दै गएका छन् । शीप सिके जीवनयापन गर्न सकिन्छ भन्ने कुरा बुझेका पूर्वकम्लहरीहरु सिलाइकटाइ पेशातर्फ आकर्षित हुने गरेका छन् । साहुको घरमा बसेर भाडा माझ्नुपर्ने अवस्था सम्झिँदै बैजनाथ–२ की अनिता चौधरी भन्छिन् – “विगतका वर्षहरुमा हामी साहुको घरमा बन्धकजस्तै हुन्थ्यौं । अहिले हामी त्यो घेराबाट बाहिर छौं ।

सरकारले कम्लहरी मुक्तिका लागि गरेको घोषणाको सराहना गर्दै उनले भनिन् – “कम्लहरीलाई मुक्त गरे पनि हामीलाई बाँच्ने आधार दिएन ।” सिलाइकटाइ पेशातिर आकर्षित भएका पूर्वकम्लहरीहरुले अहिले थोरै लगानीमा सोचेभन्दा बढी आम्दानीसमेत गर्दैआएका छन् । सिलाइकटाइ पेशामा लागेका अधिकाँश पूर्वकम्लहरीहरुले अहिले आफूहरुको दैनिक जीवनमा परिर्वतन आएको बताउँछन् ।

राप्तीसोनारी–४ की पूर्वकम्लहरी संगीता चौधरी सिलाइकटाइ पेशा अपनाएपछि आफू आत्मनिर्भर बन्दै गएको सगर्व बताउँछिन् । तीन वर्षदेखि सिलाइकटाइ गर्दैआएकी संगीताले घर खर्चसमेत यसैबाट धानेकी छन् । मासिक रु १० हजार बचत गर्दैआएको उनी बताउँछिन् । चार वर्षदेखि थोरै लगानीमा व्यवसाय शुरु गरेर उनले आफ्नै गाउँमा महिलाहरुका लागि आवश्यक पर्ने लुगा सिलाउने गरिरहेकी छन् ।

पहिले घरपरिवारको भरमा जीविका चलाउनुपर्ने संगीताले अहिले आफैंले घर खर्च चलाउन थालेपछि आफ्ना श्रीमान् र सासूससुरा खुशी भएको संगीताले बताइन् । थारु समुदायका मानिस आम्दानीको अभावमा छोराछोरीलाई विद्यालय पठाउनसमेत सक्दैन्थे तर, संगीताले सिलाइकटाइ व्यवसाय सञ्चालन गरेर छोराछोरीलाई निजी विद्यालयमा पढाइरहेकी छन् । उनीहरुजस्तै सिलाइकटाइ सिकेका अन्य पूर्वकम्लहरीहरु कुनै न कुनै पेशा गरेर स्वरोजगार बनेका छन् ।

पूर्वकम्लहरीहरु पछिल्लो समयमा सिलाइकटाइ, गाडी चालक, पशुपालन, कम्प्युटर अपरेटरजस्ता तालीम पाएर स्वरोजगारतर्फ उन्मुख भइरहेका छन् । भाँडा माझ्ने शीपको प्रयोग गर्न जानेको यो समाजले आफूहरुका अन्य शीपलाई सम्मान गर्ने दिन पनि अवश्य नै आउँछ भन्नेमा पूर्वकम्लहरीहरु विश्वस्त छन् ।