तपाईँ सुन्दै हुनुहुन्छः

विमानस्थल पुनः सञ्चालन, अस्पताल सुधार र ब्लड बैंकका लागि नगरपालिकाद्वारा बजेट विनियोजन


कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले बन्द अवस्थामा रहेको मझगाउँ विमानस्थल सञ्चालन गर्न र महाकाली अस्पताल सुधारका लागि बजेट विनियोजन गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको विनियोजित बजेटमा विमानस्थल पुनः सञ्चालनका लागि रु.२० लाख र अस्पताल सुधारका लागि रु.१० लाख बजेट विनियोजन गरिएको भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । भीमदत्त नगरपालिकाको पाँचौ नगर सभाबाट विमानस्थल सञ्चालनका लागि संकल्प प्रस्ताव समेत पारित गरिएको नगर प्रमुख विष्टले बताउनुभयो ।

बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि गठित संघर्ष समितिले समेत यसअघि नै भीमदत्त नगरपालिका लगायत कञ्चनपुर जिल्लाका ९ वटै स्थानीय तहसंग बजेट विनियोजन गरी सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको थियो ।

त्यस्तै, लामो समयदेखि चिकित्सक विहिन रहेको महाकाली अस्पताल सुधारका लागि नगरपालिकाले पूर्वाधार, उपकरण र सामाजिक सेवा विस्तारका लागि बजेट विनियोजन गरिएको नगर प्रमुख विष्टले बताउनुभयो । महाकाली अस्पतालको सेवा सुधारका लागि नगरपालिकाबाट रु.१० लाख बजेट विनियोजन गरिएको र थप सेवा सुधारका लागि प्रदेश र संघीय सरकारसंग माग गरेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी चालु आर्थिक वर्षमै भीमदत्त नगरपालिकाले ब्लड बैंक स्थापनाका लागि नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरलाई समेत ३ लाख रुपैया विनियोजन गरेको छ । बिरामीको अवस्था र रगत अभावका कारण कुनैपनि नागरिकले अकालमै मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यले ब्लड बैंकका लागि बजेट विनियोजन गरिएको नगर प्रमुख विष्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button