तपाईँ सुन्दै हुनुहुन्छः

सुर्के खोलामा आएको बाढीले पुल बगाउँदा सोलुखुम्बुको हिमाली क्षेत्रमा सामान ढुवानी ठप्प

सोलुखुम्बु। सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । बिहीबार बेलुका अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा आवातजावत ठप्प भएको हो ।

पर्यटकीय मौसम भएकाले यात्रुको चाप बढी भएपछि प्रहरी र स्थानीयले फड्के पुल बनाएर सामान्य आवतजावत सञ्चालन गरेका छन् । तर, खच्चड र घोडाको लागि पूर्णरुपमा आवगमन बन्द भएको स्थानीय याङ्जी शेर्पाले जानकारी दिनुभयो । यति बेला दैनिक खरिखोलाबाट सयौँ विदेशी तथा स्वदेशी पर्यटक सुर्के हुँदै लुक्ला जान्छन् । पर्यटकको लागि आवश्यक खाद्यान्नको सामान तथा लत्ताकपडा खच्चड र घोडाको प्रयोग गरी ढुवानी गरिन्छ । सडकको पहुँच नभएका कारण त्यस क्षेत्रमा सामान ढुवानीका लागि भरपर्दो साधन खच्चड, घोडा नै । तीनै खच्चड र घोडा हिडाउन नसक्ने भएपछि थप समस्या भएको स्थानीयले बताएका छन् ।

खुम्बु क्षेत्रका लागि खच्चडको प्रयोग गरी सामान ढुवानी गरिन्छ तर । बाटो अवरुद्ध भएपछि समस्या हुने लुक्लाका व्यवसायी फिन्जो शेर्पाले बताउनुभयो । शेर्पाले स्थानीय तहलाई तत्कालै बैकल्पिक व्यवस्था गर्न माग गर्नुभयो ।

यसैबीच, बाढिले सोही स्थानको सुर्केखोला पेल्ट्रीकसेटको पाइप र ट्याङ्की बगाएको छ । बाढीले विद्युत्को पाइप र ट्याङ्की बगाउँदा ५० घरमा विद्युत् आपूर्ति बन्द भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नदेखि रेडियो टेलिभिजन हेर्न नपाएको स्थानीयले बताएका छन् ।

साइकलयात्री जितकुमार साह आधारशिविरमा

साइकलयात्री जितकुमार शाह सगरमाथा आधारशिविर पुग्नुभएको छ । भदौ ९ गते जनकपुरबाट यात्रा शुरु गर्नुभएका शाह शुक्रबार बिहान नौ बजे १९ दिनमा सगरमाथा आधारशिविर पुग्नुभएको हो ।

उहाँ गत बिहीबार सल्लेरी आइपुग्नुभएका थियो । शाह काठमाडौँ, दोलखा, उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बु आउनुभएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न यात्रा गरेको शाहको भनाइ छ । ‘तराई पहाड हिमाल हाम्रो मातृभुमि नेपाल’ भन्ने मूल नारासाथ नेपालको झण्डासहित सोलुखुम्बु आइपुग्नुभएका शाहले आफ्नो यो यात्राले नेपाल भ्रमण वर्षलाई सफल पार्न सहयोग पुग्ने दाबी गर्नुभयो । आगामी वैशाखमा ३१ वर्षीय शाहले साइकलसहित सगरमाथा आरोहण गर्ने बताउनुभयो । -रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button