तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं । हिन्दु धर्ममा विशेष रुपमा लिइएको सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्धअन्तर्गत पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आज बिहान ९ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि लाग्ने भएकाले आजैदेखि सोह्रश्राद्ध सुरु भएको जानकारी दिइएको छ ।

 

आजदेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । १६ दिनको यो पितृपक्षमा पितृको मृत्यू तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारीक शुरुवात हुने गर्दछ ।

 

सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि बिभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट शुरु भएको यस पक्ष औंशीका दिनसम्म चल्ने गर्दछ । पितृपक्षमा पितृहरु पृथ्वी लोकमा आ(आफ्ना सन्ततीका घरमा आएर बस्ने गर्दछन । यसरी पूर्णिमाबाट शुरुभएको पितृपक्ष औंशीका दिन सम्पन्न हुन्छ ।

१६ दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यू तिथिका दिन हिन्दूधर्मावम्वीहरुले पितृकर्म अर्थात श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित, पूरोहितको उपस्थितिमा कर्ताले पितृकर्म गर्दा कपाल खौरीएर नयाँ जनै फेरेको हुनुपर्दछ ।

विहानै देखि मौलिक विशेषता बोकेका पारम्परीक नैवेध तथा विभिन्न प्रकारका खानेकुराहरु घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ अनि र श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरुप विभिन्न साम्रगीहरु, घ्यू, सेतो पुष्प, पँहेलो केसरी लगायतका पितृकर्ममा आवश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पुजा गरेको ठाउँमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ ।

सक्नेले पितृ पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ । नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button