२०७६ साल मंसिर १ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा बुढी पोल्ने पर्व मनाइँदै

हरिश चन्द्र बाग २०७६ असोज १ गते ८:२१

कञ्चनपुर । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशमा धुमधामसंग मनाईँदै छ ।

द्वापर युगमा राक्षसनी पुतनाले राजा कंशको आदेशमा भगवान श्रीकृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान श्रीकृष्णले थाहा पाएर उल्टै राक्षसनी पुतनाको स्तन चुसी मारेको खुशीयालीमा सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष असोज संक्रान्तिका दिन बुढी पोल्ने पर्व मनाउने प्रचलन रहेको कञ्चनपुरको बेलौरी निवासी प्राध्यापक एवं ज्योतिष पण्डित यज्ञराज पन्तले बताउनु भयो ।

यस पर्वमा गाईवस्तुको हेरचाह गर्ने गोठालाहरुले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझ, निंगालो आदिका हांगाबिंगाहरु काटेर बनाएको बुढीलाई जलाउने चलने छ । जासुसी राक्षसनी पुतना दहनका लागि असोज संक्रान्तिका दिन साँझपख सबै घरबाट काँस, अमरिसो लगायत पाँच थरीका घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ ।

दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको छ । साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास रहँदै आएको छ ।

तर पछिल्लो समयमा बुढी पोल्ने पर्व लोप हुँदै गएको प्रति संस्कृति संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशका पहाडी समुदायले मनाउनुका साथै छिमेकी देश भारतको कुमाउ, गढवालमा पनि मनाउने गरिन्छ ।