तपाईँ सुन्दै हुनुहुन्छः

सार्क चित्रकला प्रदर्शनीका लागि पाँच नेपाली चित्रकार माल्दिभ्स प्रस्थान


काठमाडौँ – सार्क कला क्याम्प तथा प्रदर्शनीमा सहभागिताका लागि पाँच जना नेपाली चित्रकारको टोली शनिबार माल्दिभ्स प्रस्थान गरेका छन् ।

टोलीमा रञ्जु यादव, सुन्दर सिंख्वाल, रिता मानन्धर, टुकबहादुर थापा मगर र विपिनकुमार घिमिरे रहेका छन् ।विपिनकुमार घिमिरे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव हुन् । घिमिरेले नै टोलीको नेतृत्व गरिरहेका छन् ।

सार्क सदस्य राष्ट्रमा प्रत्येक वर्ष हुने यो कार्यक्रम सार्क कल्चर सेन्टरले यो वर्ष माल्दिभ्स सरकारको सहयोगमा माल्दिभ्सको हुल्हुमाले सहरमा आयोजना गर्दैछ ।

आइतबारदेखि बिहीबारसम्म अर्थात् सेप्टेम्बर २२ देखि २६ सम्म सार्क आर्ट क्याम्प तथा प्रदर्शनी सञ्चालन हुने चित्रकार रञ्जु यादवले बताउनुभयो ।

उक्त कार्यक्रममा रञ्जु यादवले मिथिला चित्र, सुन्दर सिंख्वालले पौभा चित्र, रिता मानन्धरले आधुनिक चित्र, टुकबहादुर थापा मगरले समसामयिक चित्र र विपिनकुमार घिमिरले अभिव्यक्तिवादी चित्र कोर्ने छन् ।

चित्रकारहरुको टोली अर्को शनिबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आफ्नो कार्यालयमा बिहीबार एक कार्यक्रम आयोजना गरी चित्रकारको टोलीलाई बिदाई गरेको थियो ।

त्यसअघि प्रतिष्ठानले खुला दरखास्त आह्वान गरी सहभागी चित्रकारहरु छनोट गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button