तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य चौकीलाई निशुल्क जग्गा प्रदान

दिलीप खत्री, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका चार स्थानीयले स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा उपलव्ध गराउनु भएको छ ।

जग्गाको अभावमा हाल चार आना जग्गामा निर्माण गरिएको जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीलाई स्थानीय मोतीप्रसाद अधिकारी, गोविन्द भण्डारी, लिलानाथ भण्डारी र बोलनादेबी भण्डारीले ५ रोपनी २ आना जग्गा उपलव्ध गराउनु भएको हो ।

सुविधा सम्पन्न भवन लगायतका संरचना निर्माणका लागि मोतीप्रसादले ३ लाख ५० हजार, गोविन्दले २ लाख ५० हजार, लिलानाथले २ लाख र बोलनादेबीले १ लाख मूल्य बराबरको जग्गा आईतबार जिल्ला मालपोत कार्यालय दिक्तेलमार्फत स्वास्थ्य चौकीको नाममा पास गरिदिएको स्थानीय नविन राईले जानकारी दिनुभयो ।

जग्गा नहुँदा स्वास्थ्य चौकी खाल्लेले हाल २७ वर्षअघि निर्माण गरिएको जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । २०४९ सालमा तत्कालीन गाविस अध्यक्षमा निर्वाचित राजकुमार राईको पहलमा निर्माण गरिएको तीन कोठे भवन जीर्ण हुँदा स्वास्थ्य सेवा प्रवाह कठिन भएको स्वास्थ्य चौकीका ईन्चार्ज हेल्थ असिस्टेन्ट सन्तोष भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button