तपाईँ सुन्दै हुनुहुन्छः

हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छः अध्यक्ष प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादकाे लक्ष्य पुरा गर्न अर्को आन्दोलन, अभियान र मिसन चाहिएको बताउनुभएकाे छ । दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले एउटा शान्तिपूर्ण र प्रतिष्पर्धात्मक हुने अर्को आन्दोलनको आवश्यकता रहेको समेत औल्याउनुभयाे। उहाँले नयाँ आदर्श स्थापना गर्नका लागि पार्टी एकता गरिएको औंल्याउँदै तर अहिले त्यो अर्कै तरिकाले अघि बढ्न लागेको उल्लेख गर्नुभयाे।

‘जतिबेला हामी खुला र प्रतिस्पर्धामा प्रवेश गर्‍यौँ, शासन सत्तामा पुग्यौँ कता कता हामी आदर्श, विचार र निष्ठाबाट बिस्तारै थाहै नदिन स्खलित हुँदै जाने प्रक्रिया सुरु भयो। नाम त अहिले पनि हाम्रो कम्युनिस्ट पार्टी नै छ, के हामी साँच्चै कम्युनिस्ट जस्ता छौँ त ?’ उहाँले प्रश्न गर्दै भन्नुभयाे, ‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त? हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो। हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ। सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुन्छ।’

‘पदक लागि गुट/उपगुट बनाएर लडौं भनेर होइन नयाँ र अभियानतिर जाऔं भन्नका लागि एकता गरेको हो। तर अहिले आदर्शच्यूत र स्खलित हुने अवस्था आयो,’ अध्यक्ष प्रचण्डले भन्नुभयाे,‘ भिन्न तरिकाले जान लाग्यो भने त्यसलाई सुधार्नुपर्छ।’

नयाँ समाजवादी व्यवस्था र संस्कृति स्थापना गरी कम्युनिष्ट पार्टीलाई जनताको सेवकका रूपमा स्थापित गर्न नयाँ मिसन र उद्देश्यका साथ आन्दोलन गर्नुपर्नेमा उनले जोड दिनुभयाे। ‘भन्न त हामीले समाजवादीको यात्रा सुरु गर्ने भनेका छौं, के हामी समाजवादीको यात्राका निम्ति एउटा योद्धा जस्तै छौं त?’, उहाँले भन्नुभयाे।कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधान कम्युनिष्ट आन्दोलन, महिला मुक्ति आन्दोलन, महिलाले पनि पढ्न पाउनुपर्दछ भनेर सक्रिय भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले पुष्पलालको निधनपछि प्रधानले पार्टीको अगुवाइ गरेको स्मरण गर्दै उहाँको योगदान अमर र अजर रहेको उल्लेख गर्नुभयो ।

उहाँले पार्टीमा अझै पनि महिलाको सन्तुलन कायम गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले कम्युनिष्ट बनाउनमा उहाँको दृढता र दृष्टिकोण व्यापकता रहेको बताउनुभयो । अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले राजनीतिक र महिला आन्दोलनको अद्वितीय नेताका रुपमा प्रधान रहेका बताउनुभयो ।

उहाँले प्रधानले कहिल्यै व्यक्तिगत स्वार्थमा नलागी जनता र महिला मुक्तिका लागि त्याग र तपस्या गरेको बताउनुभयो । उहाँले पार्टीमा अझै पनि महिलाप्रति न्याय हुन नसकेको भन्दै पार्टीका हरेक तहमा ३३ प्रतिशत महिला पु¥याउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रधानका छोरा उमेशलाल श्रेष्ठले आमाको योगदानलाई पार्टीले एक वर्षमा सम्झने गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्रीले प्रधानका विचारलाई पार्टीले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । विसं १९८४ मा जन्मिनुभएका प्रधानको आजैका दिन विसं २०७१ मा निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button