तपाईँ सुन्दै हुनुहुन्छः

कबड्डी-३: संस्कार र भावना की प्रेम ?

नेपालको प्राकृतिक गन्तव्य हो मनाङ र कास्कीको घान्द्रुक । निर्देशक रामबाबु गुरुङको कबड्डी, कबड्डी, कबड्डीले यहि दुई ठाँउको सेरोफेरोलाई पच्छाउदै अगाडी बढेको  छ ।

कथा नयाँ हैन, न पात्र र परिवेश नै नयाँ हो । तर पनि कबड्डी, कबड्डी, कबड्डीले दर्शकलाई राम्रैसंग तान्न सकेको छ । फिल्मका हरेक पात्रले आफ्नो भूमिकामा न्याय गर्न सकेका छन् । अर्थात भनौ निर्देशक रामबाबुले कलाकारलाई फिल्मको पात्रको भूमिकामा खरो ढङ्गले उभ्याउन सकेका छन् ।

फिल्मको मुख्यपात्र विरकाजी (दयाहाङ राई) र काशी (उपासनासिंह ठकुरी) ले आफ्नो भागमा परेको पात्रलाई न्याय गर्न सकेका छन् । प्रेममा धोखा खाएर पिडाको पहाड बोक्दै हिडेका विरकाजी (दयाहाङ राई) लाई काशी (उपासनासिंह ठकुरी) को माया उपयुक्त विश्राम स्थल हो भन्ने महशुस हुदा नहुदै मनमा अर्को बज्रपात हुन्छ काशीको आफ्नै ब्वाईफ्रेण्ड (कर्मा) छ भन्ने थाहा भएपछि ।

फिल्मको यहि कथावस्तुले दर्शकलाई भावुक बनाउदै विरकाजी र काशीको भूमिकामा अलमलाई रहन्छ । कति युवा दर्शकहरुले विरकाजीकै नियती भोगीरहेको आफ्नो प्रेम कहाँनी कबड्डी कबड्डी कबड्डी मा लेखिएको महशुस गरिरहेका हुन्छन् होला । अनि कति युवती दर्शकहरुले आफ्नो ब्वाईफ्रेड (कर्मा) संगको प्रेम कथा, विरकाजीसंगको भावनात्मक निकटता र धनकाजी (विल्सनबिक्रम राई) संग परिवारले जोडिदिएको साईनो बीचको तादम्य खोज्दैमा समय कटेको पत्तै पाउदैनन् होला । तर अन्तमा विरकाजीले आफ्नो मनको मायालु मैया (रिश्मा गुरुङ) लाई प्राप्त गर्नसक्दा फिल्मको अन्त्य शुखदनै ठानिएको छ । फेरिपनि मैयाको फोटो फालेर मनदेखिनै काशीलाई माया गर्न लागेका विरकाजीसंग मैयासंगै मिलन गराई दिदा कथामा न्याय भएनकी भन्ने दर्शकहरु पनि प्रशस्तै भेटिएका छन् । किनभने धेरैको अपेक्षा विरकाजीको लगन गाँठो मैयासंग हैन काशीसंगैनै गाँसिन्छ भन्ने थियो । अनि अरुसंग पोईल गएकी भनिएकी मैया कसरी विरकाजीसंग आईपुगीन भन्ने प्रश्नपनि अनुत्तरीत नै बनेको छ ।

हुन त निर्देशकले प्रेम र भावनाको अन्तर पनि देखाउन खोजेका होलान । किनभने काशीले कर्मा (फिल्मको ब्वाईफ्रेण्ड) संग प्रेम गरेकी थिइृन भने विरकाजीसंग भावनात्मक निकटतामात्र थियो साहेद । त्यसैले पनि काशीले विरकाजी हैन ब्वाईफ्रेण्डनै रोज्नु उपयुक्त ठानिन् । र निर्देशकले भावनालेमात्र भाग्य लेखिदैन प्रेम नै आवश्यक हुन्छ भन्ने सन्देश दिन सके ।

कबड्डी कबड्डी कबड्डीले धोका, प्रेम र भावनात्मक सम्बन्धको गहिराईमात्र पस्केको छैन् । जातिय संस्कार र आधुनिक परिवेश, अन्तरजातिय विवाहको राम्रा तथा नराम्रा पक्ष र वर्तमान समयको अपेक्षा र पारिवारीक पिडिको बुझाई तथा समयसंगको सम्झौतालाई समेत सरल ढङ्गले प्रस्तुत गर्न सकेको छ ।

काशीको बुबा (माओत्से गुरुङ) ले आमा (लुनिभा तुलाधर) संग अन्तरजातिय विवाह गरेका छन् । विवाहको केहि समय पछि देखिनै यी दुई बीच अन्तरद्वन्द्व सुरु हुन्छ । काशीको बुबाको बुझाई श्रीमतीसंगको अन्तरद्वन्द्व अन्तरजातिय विवाहकै परिणती हो भन्ने छ । तर जब छोरी काशीलाई अन्तरजातिय विवाह गर्न दिने कुरामा समयको मागकै आधारमा दुई जना सहमत हुन्छन् अनि उनीहरुको माया पनि नयाँ र थप मजबुद ढङ्गले अङ्कुराउन थाल्छ । फिल्मको यो परिवेशले फेरी अन्तरजातिय विवाहलाई उत्कृष्ठ बनाउन खोजेको छ ।

फिल्मको अर्को प्रहार जातिय संस्कार र संस्कृति माथी पनि छ । जातिय संस्कारकै आधारमा काशीको विवाह आमाले भाञ्जा धनकाजीसंग र बुबाले अर्का भाञ्जा विरकाजीसंग गरिदिन चाहेपनि काशीले भने दुबै प्रस्तावलाई अस्वीकार गर्दै नाता न गोताको ब्वाईफ्रेण्डसगै जान चाहिन । यसको अर्थ के हो भने आधुनिक युवतीहरुले जातिय संस्कारलाई निरन्तरता दिने नाममा आफुलाई मन नपर्ने कुनै पनि कुरामा सम्झौता गर्न सक्दैनन् । या भनौ अबको पुस्तालाई जातिय संस्कार संस्कृतिको नाममा कुनै कुरा गर्न या नगर्न भनेर बाँध्न सकिदैन् । त्यसैले संस्कार संस्कृतिलाई पनि समयको माग र आवश्यकता अनुसार परिर्वतन गर्दै लैजानु पर्छ । मानिसले आफ्नो सम्बन्धलाई समय अनुसार परिर्वतन गर्न सकेन भने त्यो सम्बन्ध न सुमधुर हुन सक्छ, न सधै सधै रहन सक्छ ।

जे होस फिल्मको दुश्य, पात्र र परिवेश सबैकुरा कथासंग मेलखाने खालकै छ र फिल्म निर्माणमा प्रयोग भएको प्रविधिले पनि फिल्मलाई उत्कृष्ठ बनाउन भूमिका खेलेको छ । अनि थप पात्रहरु कमलमणी नेपाल, बुद्धि तमाङ, विजय बराल, अरुणा कार्की, कविता आले, मणीकुमार राई आदिको अभिनयले पनि फिल्मलाई दर्शकको प्यारो बनाउन भूमिका खेलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button