तपाईँ सुन्दै हुनुहुन्छः

चीनको समृद्धिको शैली दिगो र अनुशरणयोग्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले छिमकी चीनको समृद्धिको शैली दिगो, नमूना र अनुशरणयोग्य रहेको भन्दै नेपाली मौलिकताको समृद्धिका लागि दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुग्नुपर्ने बताउनुभएको छ ।

नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको विचारधारात्मक छलफल कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले राजनीतिक आन्दोलन र परिवर्तनको चरण पार गरी उपलब्धिलाई संस्थागत गर्न अधिकारसम्पन्न नयाँ संविधानको कार्यान्वयन र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु वर्तमान कार्यभार भएको स्पष्ट गर्नुभयो ।

“क्रान्ति गरेपनि कम्युनिष्टहरुले विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चीनले खण्डन गरेको छ । चिनियाँ समाजको रुपान्तरण आजको समाजको महत्वपूर्ण उपलब्धि हो । त्यसलाई अनुशरण गर्न सकिन्छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “चीनियाँ विशेषताको समाजवादलाई अझ व्यापक प्रगतिशील बनाउने काम हाल चिनियाँ नेतृत्वले गरेको छ । यसको श्रेय राष्ट्रपति सिलाई जान्छ । उहाँको विचार विश्व व्यवस्थाको समयानुकूल छ । यो चीनको आफ्नै मौलिक जग, बुद्धि र पसिना तथा व्यापकतामा विकास भएको हो ।”

आपसी सहकार्य र विचारको आदान प्रदानमा जोड दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “ आक्रामकरुपमा बढिरहेकाो विश्व पूँजीवादले युवा पुस्तामा व्यक्तिवादी प्रवृत्ति हावी भएको सन्दर्भमा कम्युनिष्ट पार्टीको विचार, माक्र्सवादको दर्शन र निष्ठालाई निरन्तर प्रशिक्षित गरिहनुपर्छ । माक्र्सवादलाई हरेक देशले सिर्जनात्मकरुपमा प्रयोग गर्नुपर्छ । नेपालमा अहिले हामी एकीकृत कम्युनिष्ट पार्टीको प्रतिस्पर्धात्मक चरित्रको जनताको जनवादलाई अभ्यास गरिरहेका छौँ । दुई पार्टीबीचको संयुक्त प्रशिक्ष नयाँ अभ्यासको थालनी सावित भएको छ ।”

चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङको दृढता र विचारमा आधारित सन् २०५० सम्ममा चीनले देखेको नयाँ शैलीको समाजवादको लक्ष्यको सफलता र आशन्न जनवादी गणतन्त्र चीनको सत्तरीऔँ दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले एक चीन नीति प्रतिको प्रतिबद्धता दोहोर्याउनुभयो । उहाँले चीन न्यायोचित विश्व व्यवस्था, सामाजिक सहअस्तित्व र उज्ज्यालो भविष्यतर्फ यात्रा तय गरेर चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनमा महासचिव जिनफिङले अघि सारेको अवधाराणा पारित गरी कार्यान्वयनमा ल्याउनुनले सो मुलुकले समृद्धिको नयाँ यात्रा शुरु गरेको स्पष्ट देख्न सकिएको जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूहरुले हासिल गरेका अनुभव, चुनौती र अनुभवको आदान प्रदान हुनु आवश्यक रहेको भन्दै नेकपा पार्टी एकतापछि प्रतिस्पर्धामा आधारित जनताको बहुदलीय जनवादको विचार अङ्गीकार गरिएको र कम्युनिष्ट पार्टीले कैयौँ मुलुकका क्रान्ति गरी सामाजिक रुपान्तरणको अगुवाई गरेको अवस्थामा त्यसका लागि कम्युनिष्ट पार्टी एकताबद्ध र अनुशासित हुनैपर्ने जनाउनुभयो ।

दुई दिने प्रशिक्षण कार्यक्रम ‘सि जिनफिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र दुई पार्टीबीचको विचारधारात्मक छलफलमा केन्द्रित हुनेछ । प्रशिक्षणमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख (मन्त्री) साङ ताओले पनि सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीसँग नेता ताओ नेतृत्वको प्रमण्डलले आज दिउँसो प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता गरेको थियो ।
प्रशिक्षणमा सम्बोधन र चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका लागि चिनियाँ कम्युनिष्ट पार्टीका नेता ताओ नेतृत्वमा १४ सदस्यीय चिनियाँ टोली हाल काठमाडौँमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button