तपाईँ सुन्दै हुनुहुन्छः

कालोबजारी रोक्न प्रदेश सरकारको ध्यानाकर्षण

चिप्लेढुङ्गा-चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने कालोबजारी रोक्न नारी जागरण अभियान पोखराले प्रदेश सरकारको ध्यानाकार्षण गराएको छ ।

पर्वहरुलाई विकृतिरहित र मौलिक रुपमा मनाउने वातावरण सिर्जना गर्न अभियानले गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

अभियानका संयोजक अञ्जु केसीले चाडपर्वको नाममा हुने कालोबजारी, सार्वजनिक यातायातको दोब्बर भाडादर, गुणस्तरहीन उपभोग्य वस्तुहरु, चोरी डकैती, हत्या, हिंसालगायतका सामाजिक विकृति नियन्त्रणका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको बताउनुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री चुमानले नागरिकस्तरबाट सरकारलाई ध्यानाकर्षण गराएकामा नारी जागरण अभियानलाई धन्यवाद दिदैं पर्वलाई सामाजिक सद्भाव कायम गरेर विकृतिरहित बनाउनका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले सचेत नागरिकबाट सभ्य समाज निर्माण हुने भन्दै सरकारसँगै नागरिकले आफ्नो कर्तव्य पालना गर्न सके सामाजिक सहिष्णुता कायम हुने बताउनुभयो ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले शान्ति सुरक्षा, अस्वभाविक मूल्यवृद्धि र कालोबजारी न्यूनीकरणका लागि स्थानीय प्रशासन इमान्दारीपूर्वक आफ्नो कर्तव्य पालन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button