२०७६ साल कार्तिक २६ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

सिँजा सभ्यता अध्ययन गर्न सांसदको टोली कर्णालीमा

सागर परियार २०७६ असोज ९ गते ८:१७


जुम्ला । राष्ट्रिय सरोकार तथा समन्वय समितिको ११ सदस्यीय टोली कर्णाली प्रदेशको जुम्ला आइपुगेको छ । कर्णाली प्रदेशका जुम्ला, मुगु र कालिकोट जिल्लाको राष्ट्रिय सम्पदाको अवस्था र संस्कृतिको चालचलन बुझ्नका लागि टोली यहाँ आएको हो ।

जुम्लामा आएको सात जनाको सांसद सहितको ११ जनाको टोलीले जुम्ला सदरमुकाम, सिंजामा दुई चरणमा सिंजा सभ्यताका बारेमा बृहत अन्तरक्रिया गरिएको छ । ‘कर्णालीका घरघरमा कलाकार र कलाकारिता लुकेको’ संघीय संसद राष्ट्रिय सभा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति तथा सांसद दिलकुमारी थापाले बताउनुभयो  ।

उहाँले भन्नुभयो ‘विश्वमा ग्रिस सभ्यताको महत्वजत्तिकै नेपालमा सिँजा सभ्यताको महत्व छ । ग्रिस सभ्यताको प्रेरणाबाटै विश्वका मुलुकहरूले विकास गरिरहेका छन् । तर, नेपालले सिँजा सभ्यताबाटै जातजाति, भाषाभाषी, धर्मको रहनसहन, चालचलन सबै सिक्नुपर्ने अवस्था छ  ।

नेपाली भाषाको उद्गम स्थान सिँजा सभ्यताको ऐतिहासिक कुरा लिपिबद्ध गरी सिँजा ऐन बनाउने विषयमा सरकारलाई मार्ग देखाउने उहाँको दाबी छ ।

राष्ट्रिय सम्पदाको अवस्था, सांस्कृतिक चालचलको अवस्था बुझ्न सातजना सांसदसहित ११ जनाको टोली जुम्ला पुगेको हो । सो अवसरमा सोमबार अन्तक्र्रिया गर्दै सभापति थापाले कर्णालीका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका विषयलाई लिपिबद्ध गरी सरकारसमक्ष पेस गर्ने बताइन । जुम्लाको सिँजा सभ्यताको बारेमा बृहत छलफल भएको छ । राष्ट्रिय सम्पदासम्बन्धी छलफल मुगुको रारातालमा हुने भएको छ ।

अन्तक्र्रिया कार्यक्रममा प्रतिनिधिसभा सांसद तथा विपक्षीदलका नेता सुरेन्द्र पाण्डेले स्थलगत अध्ययन तथा अनुगमनबाट सरकारलाई दिइने प्रतिवेदनले पक्कै पनि सरकारको ध्यान केन्द्रित गर्ने बताउनु भयो । नेपाली भाषाको उद्गमस्थल सिंजाको विकासमा सरकारी लगानी अभाव रहेको उहाँको भनाइ थियो । सांसद गजेन्द्र महतले माग्ने प्रवृत्तिले विकास नहुने बताए । कला संस्कृतिको धनी कर्णालीले आफ्नै पाखुरा चलाउने सामथ्र्य अझै बनाउन नसकेको टिप्पणी गर्नुभयो ।

कर्णालीका गाउँपिच्छे नै भिन्नै खालका कला संस्कृति तथा रहनसहन छन । धान रोप्दा, बाली भित्राउँदा, वनपाखा जाँदा, गाई चराउन जाँदा, छोरा हुँदा, विवाह गर्दा, जात्रा लाग्दा, साउने संक्रान्ती आउँदा हरेक पर्व र अवसरहरूमा कर्णालीमा गाइने गीत, लगाउने पहिरन फरक छन् । करिब १७ लाख ७० जनसंख्या रहेको कर्णालीका घरघरमा आ–आफ्नै कला, संस्कृति छन् । गीत गाउने, लगाउने रहनसहनबाट जुम्लाका कुनै घरहरू अछुतो नरहेको संस्कृतिविद् रमानन्द आर्चायले बताउनु भयो  । जुम्लामा ऐतिहासिक महत्वका कला, संस्कृति हुँदा पनि राज्यले उपेक्षा गरेको गुनासो गरिएको थियो ।

केही अधिकार आइसकेको र केही आउन बाँकी रहेको अवस्थामा प्राप्त अधिकारहरू पनि कार्यान्वयन गर्न स्थानीय सरकारका प्रमुखहरूले नसकेको समेत सरोकारवालाले बताए । जुम्लामा पुगेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको टोलीले तीन दिनसम्म जुम्लाको कला, सांस्कृतिक, ऐतिहासिक स्थलहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरी सरकारलाई प्रतिवेदन पेस गर्नेछ । काठमान्डौबाट आएको टोलीले सोमबार खलंगामा मंगलबार सिंजामा र बुधबार मुगुको रारातालमा र विहिबार कालिकोटमा छलफल गर्ने छ ।

सिञ्जामा सुनका असर्फीको इतिहास

सिञ्जा ऐतिहासिक खस साम्राज्य अर्थात राज्य भएको स्थानमा विभिन्न पुरातात्विक सम्पत्तिहरु रहेका छन् । यसको चर्चा पनि भइरहन्छ । लेखक तथा पत्रकार स्वर्गीय रत्नाकर देवकोटाको ‘बृहत जुम्ला राज्यको इतिहास’ नामक पुस्तकमा सिञ्जामा सुनका सिक्का पाइएको इतिहास उल्लेख छ ।

२०४३ सालमा पाण्डव गुफा गाउँको देयारपाटा वरपरको कुनै किसानको बारीमा स्थानीय जोखे भन्ने हलीले हल्लो जोत्दो एक ठाउँमा अड्किएको थियो । त्यही बारीमा सुनको असर्फी भरिएको गाग्री भेटिएको त्यस पुस्तकमा उल्लेख छ । यो विषय जग्गाधनी, सम्बन्धित हली र छिमेकीमा बाँड्ने विषयमा कुरा चलिरहेकै बेलामा कर्णालीका अञ्चलाधीश र जुम्लाका प्रमुख जिल्ला अधिकारीले थाहा पाए ।

त्यसपछि स्थानीय प्रशासन घटनास्थलमा पुगी अनुसन्धान गरेर भेटिएका असर्फी सुनका सिक्का तत्कालीन श्री ५ को सरकार पुरातत्व विभागबाट परीक्षण भई एक वर्षपछि सरकारको राजस्वमा जम्मा गरिएको बताइएको थियो । अहिले सिञ्जावासीले ती सिक्का कहाँ छ भन्दै प्रश्न गरिरहेका छन् ।