तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीमा निर्वाचन कार्यालयको भवन निर्माण 

म्याग्दी – बेनी नगरपालिका–७ मङ्गलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ ।   रु एक करोड ६४ लाख १४ हजारको लागतमा निर्माण भएको सो भवन तीन तले नौ कोठे रहेको छ । भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री सो भवनमा कार्यालय प्रमुख, प्रशासन, लेखा, सहायता कक्ष, प्रविधि, तालीम हल, स्टोर, अतिथि गृह, आवास र सूचना प्रविधि कक्ष रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुविधा सम्पन्न भवन निर्माण भएपछि कार्यालय सञ्चालन र सेवा प्रवाहमा सहजता आएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो । उहाँका अनुसार म्याग्दीमा हालसम्म ३९ हजार २६९ पुरुष, ४२ हजार १७७ महिला र एक जना तेस्रो लिङ्गीसहित कूल ८१ हजार ४७७ को तस्वीरसहितको मतदाता नामावली सङ्कलन भएको छ ।

ताकम बिजुलीको पहुँचमा    
म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । यसबाट साविकको ताकम गाविसको ३, ४ र ५ नम्बर वडाका २०० घरपरिवार लाभान्वित भएका छन् ।

हिलापोखरी, शिवाङ, मच्छिम, काफलडाँडा र आरखोलाको थप करीब ४०० घरमा बिजुली बाल्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष प्रगति कार्कीले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र र धौलागिरि गाउँपालिकाको सहयोगमा विद्युतीकरण भएको हो ।

यसअघि धारापानीमा २०१ घरमा गत वर्ष गाउँपालिकामै पहिलोपटक विद्युतीकरण भएको थियो । केन्द्रीय प्रसारण लाइनको बिजुली बलेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । उज्यालोका साथै विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको स्थानीय गोपाल आचार्यले बताउनुभयो ।

“मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ”, आचार्यले भन्नुभयो, “खाना पकाउन दाउराको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न थालेका छन् ।” फर्निचर, ब्लक, राइसमील, मासु पसल सञ्चालन हुन थालेको छ । यसअघि उज्यालोका लागि स्थानीयवासीले सोलार र मट्टितेलको टुकी प्रयोग गर्दै आएका थिए ।

विद्युत् प्राधिकरणले केन्द्रीय लाइन विस्तार, पोल गाड्ने, ट्रान्सफर्मर जडान, ढुवानी गरेको थियो । गाउँपालिकाबाट गत आर्थिक वर्षमा विनियोजन भएको रु ८० लाखमध्ये ५७ लाख खर्चेर उपभोक्ता समितिले ८८ किलोमिटर तार खरीद गरेका थिए ।

प्राधिकरणका इञ्जिनीयर हेमराज चापागाईंले ताकमका साथै मुना हँुदै लमसुङ र मुदी गाउँ नजिकैसम्म केन्द्रीय लाइनको पोल गाडेर तार तानिएको जानकारी दिए । धवलागिरी गाउँपालिकाकाकै मराङको १०० घरमा पनि विद्युतीकरणको तयारी भएको वडाध्यक्ष राजाराम शर्माले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button